६ साउन, काठमाडौं । बुधबार राजधानीका तीन दर्जन खोप केन्द्रबाट सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइएको थियो ।

१८ वर्ष उमेरमाथिका सबैका लागि खुला गरिएकााले खोप लगाउन बिहानैदेखि मानिसहरू लाइनमा थिए ।

काठमाडौंको बढी मानवीय चाप हुने पुतलीसडक, बागबजार क्षेत्रका लागि प्रदर्शनी मार्गस्थित काठमाडौं मोडेल हस्पिटललाई खोप केन्द्र तोकिएको थियो । बुधबार दिउँसो मोडेल अस्पताल परिसर पुग्दा खोप लगाउन पालो कुर्नेको लाइन निकै लामो थियो । करिब दुई सय मिटर लामो लाइन बस्दै सर्वसाधरण आफ्नो पालो कुरिरहेका थिए ।

लामो लाइन बस्नुपर्दा सर्वसाधारण आक्रोशित देखिन्थे । यद्यपि सहजै खोप लगाउन पाएकामा कतिपय भने खुशी पनि भए थिए ।

शारीरिक अशक्त नवीन लुइँटेल पनि यही लाइनमा भेटिए । लुइँटेलका अनुसार उभिन गाह्रो हुने गरी अशक्त नभएकाले उनी अन्य मानिसहरूझैं लाइन बसेका हुन् ।

‘खोप त बल्लतल्ल पाइएको छ, अब लाइन बस्न नपरेदेखि सास्ती कम हुन्थ्यो’ लुइँटेलले अनलाइनखबरसँग भने, ‘चर्को घाम र भीडले नै बिरामी भइने डर छ ।’

कलंकी बस्ने २४ वर्षीय रुपेश खत्री पनि बागबजारमा सजिलै खोप पाइन्छ भन्ने सूचना सामाजिक सञ्जालमा देखेपछि मोडल हस्पिटल आइपुगेका थिए । बिहान १० बजे आएका खत्रीको पालो एक बजेमात्र आयो ।

‘एघार बजेतिर भीडमा ठेलमठेल भएपछि प्रहरीले छुट्यायो । नत्र लाइनको बीचमा छिरेकाहरूले गर्दा हाम्रो पालो नै आउँदैनथ्यो’, थकित देखिएका उनले गुनासो पोखे ।

सबै वर्गका मानिसलाई लगाइने भएकाले लाइनमा अधिकांश युवा, विद्यार्थी र निजी क्षेत्रमा काम गर्ने मानिसहरू थिए ।

खोप केन्द्रमा प्रहरी राखिने व्यवस्था भएपनि बागबजारमा भीड बढेकाले प्रहरी संख्या बढाइएको थियो । यता व्यवस्थापनमा सहज होस् भनेर रेडक्रसका स्वयंसेवक परिचालन गरिएको थियो ।

अस्पतालको आँगन साँघुरो भएकाले अन्य बिरामी र खोप लगाउनेहरूको प्रत्यक्ष सम्पर्क हुँदा कोरोना फैलिन सक्ने सम्भावना बढेको देखिन्छ । यसैले अस्पताल परिसरमा भेटिएका स्वास्थ्यकर्मीहरू खोप लगाउनेहरूलाई दुरी कायम गर्न बताइरहेका थिए । तर आफ्नो पालो छुट्ने डरले सर्वसाधारणहरू ठेलमठेल गरेर लाइनमा उभिन बाध्य थिए ।

खोप लगाउने समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

 

 

https://www.onlinekhabar.com/2021/07/987196