काठमाडौं : यातायात व्यवसायीहरुले आज ७ बुँदे माग सहित हड्ताल गर्दा राजधानीको यातायात अव्यवस्थित बन्यो। 

सार्वजनिक यातायात केन्द्रीय महासंघले कोभिड खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै सडक अस्तव्यस्त बनाएका हुन्। 

उनीहरुको गतिविधिका कारण यात्रुहरु अलपत्र परेका छन्। ट्याक्सी, बस तथा ट्याम्पोलाई रिङरोड परिक्रमा गराउने कार्यक्रम भनिए पनि ठाउँठाउँमा महासंघका पदाधिकारीले परिचालन गरेका समूहहरुले जबर्जस्ती बस तथा ट्याक्सी रोक्न लगाएका थिए। उनीहरुले यात्रुहरुलाई अलपत्र पार्दै ती सवारीलाई र्‍यालीमा सहभागी गराएका हुन्।