काठमाडौं : घटना एक वर्षभन्दा अघिको हो। एक जना आफन्तले पोखराबाट फोन गरेर एउटा घटनाको जानकारी दिए। उनलाई यो विषय समाचार बन्न सक्छ भन्ने लागेपछि उनले मलाइ सम्झिएका रहेछन्। त्यतिखेर त्यसलाई प्रमाणित गर्ने केही थप भिडियो थिएन। त्यसैले समाचार चाहिँ बनेन। सन्दर्भ थियो - पूर्व युवराज पारस शाहकै।

अहिले फेरि त्यस्तै विषय चर्चामा आएकाले स्मरणमा आयो। पात्र उनै हुन् पूर्व युवाराज पारस शाह। शाह त्यतिखेर धेरै समय पोखरामा नै बिताउँथे। एक दिन उनी पोखराको लेसाइडमा बाइक लिएर बतासिँदै थिए। त्यत्तिकैमा सडकमा रहेको ट्राफिक प्रहरीले रोके।

पूर्व युवराजले हेलमेट लगाएका रहेनछन्। त्यसपछि उनले उल्टै ट्राफिक प्रहरीलाई 'म को होर चिनेको छस्?' भन्दै थर्काएछन्। ती ट्राफिक प्रहरीले पूर्व युवराजलाई नचिन्ने कुरै भएन। तर, त्यो बर्दीले त चिन्दैन थियो। उसले देख्ने त सडक अनुशासन र कार्यान्वयन नै थियो। त्यसैले हात दिएर मोटरसाइकल रोकेका थिए।

हेर्दै डरलाग्दो शरीर त्यसमा पनि पूर्व युवराज। सडकमा खटिएको निरीह प्रहरी डराउनु स्वभाविक बन्यो। त्यसपछि उनी बाइक लिएर हुत्तिएछन्। त्यही दृश्य मेरा आफन्तले देखेका। उनको मस्तिष्कले त्यो दृश्य मोबाइलमा खिच्न निर्देशन दिए पनि हातहरू डराएकाले भिडियो भने बनाएनछन्। यदि भिडियो भएको भए पूर्व युवराजको त्यो हर्कत सामाजिक सञ्जालमा भाइरल पक्कै हुन्थ्यो।

तर, शुक्रवार भने शाहको त्यस्तै प्रकारको हर्कत लुकाउन सकिने अवस्था थिएन। सामाजिक सञ्जालभरि शाहका गतिविधिको निन्दा भइरहेको छ। शुक्रवार साँझ पारस शाह त्यसरी नै बाइक लिएर महाजगञ्ज नारायण गोपाल चोक पुगेका थिए। फेरि उनको टाउकामा हेलमेट थिएन। हेलमेट नभएपछि सडकमा खटिएका प्रहरीले अन्य मानिसलाई झैँ रोक्ने भए। तर, जब प्रहरीले रोकेर शाहलाई बाइक साइड लगाउन र आफूसँग हिँड्न भन्दै आग्रह गरे तब उनी आक्रोशित भए।

एउटा तल्लो तहको कर्मचारीले आफ्नो ड्युटी पूरा गरिरहेको थियो। तर, शाहले त्यो सबै बिर्सिए। आफूलाई राजतन्त्रको युवाराज झैँ सम्झिए। सायद् राजतन्त्र देशबाट मिल्किएको दशक बढी भइसकेको बिर्सिए होलान् उनले। वा, राजतन्त्रको धङ्धङी रहिरहेको होला उनमा।

तर, पारसका कतिपय भाइरल भएका भिडियोमा उनी कति सामान्य छन् भन्ने पनि देखाउँछ। पोखराकै बृद्धाहरुले युवराज भन्दै गरेको सम्बोधनको जवाफमा आफू सामान्य नागरिक भएको भन्दै मुसुक्क हाँसेर उनले दिएको जवाफ देख्नेहरुले उनीप्रति सहानुभूति नै राख्छन्। तर, जब प्रहरीसँग उनको जम्काभेट हुन्छ उनी अनियन्त्रित हुन्छन्। आखिर किन आक्रोशित हुन्छन् त उनी? प्रहरीप्रति पूर्व युवराज किन यति धेरै इरिटेड छन्?

शुक्रवार उनले प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए। प्रहरीले सामान्य मानिस भएको भए अभद्र व्यवहारमा कारबाही गर्थ्यो। हेलमेट नलगाएर सवारी चलाएको छुट्टै कारबाही। तर, पारसविरुद्ध त्यस्ता कुनै कारबाही गर्ने हिम्मत प्रहरीले देखाउन सकेन। ड्युटीमा खटिएका प्रहरी निरीह देखिए। शाहलाई हेलमेट लगाएर सवारी चलाउने भन्दै छाडियो।

यस घटनाले पारस शाह आलोचित त भए नै त्यसभन्दा धेरै आलोचना खेप्न वाध्य भयो सरकार। यहाँनेर 'सानालाई ऐन ठूलालाई चैन' भने झै भयो। ट्राफिक प्रहरीले हेलमेट नललगाउनेमाथि कारबाही गर्न खोज्दा अब यही प्रश्न उठ्न सक्नेछ।

त्यतिमात्र होइन, उनको हर्कतले ड्युटीमा खटिएका प्रहरीको मनोबल समेत गिरेको पूर्व डीआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्। साथै प्रहरीले यस्ता मानिसलाई कारबाही गर्नुपर्दा दश पटक सोच्नुपर्ने अवस्था आउने छ।

यसअघिका थुप्रै प्रहरीसँग पारशको विवाद भएका घटना छन्। २०७६ भदौमा त्रिभुवन विमानस्थलमा एक प्रहरी नायव निरीक्षक( सई) माथि यस्तै दुर्व्यवहार गरेका थिए उनले। विमानस्थलको भीआइपी कक्षको सुरक्षामा खटिएका सईले शाहका छोरा र भान्जालाई चेक गर्न खोजेपछि शाहले सईमाथि हातपात गरेका थिए। पूर्व युवराज शाह आमा कोमल शाह र छोराछोरीसहित थाइल्यान्ड जान लागेको समयमा बिदाइ गर्न पुगेका थिए। त्यहीँ प्रहरीसँग विवादमा फसेका थिए उनी।

ड्युटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार हुँदासम्म कुनै कारबाही भएन। तर, त्यही विमानस्थलमा प्रहरीले देखाएको व्यवहारलाई लिएर गायिका आस्था राउतले कारवाही भोग्नुपर्‍यो। तर, शाहले हात नै लगाएर ड्युटीमा खटिएका प्रहरीमाथि आक्रोश पोख्दा समेत कारबाहीको भागिदार बनेनन्।

त्यसअघि, त्रिपुरेश्वरमा ट्राफिक नियम उल्लङ्घन गरेर विवादमा आएका थिए पारस। युवराज हुँदासम्म त उनका विवादका श्रृङ्खला नै तयार भइसकेका थिए। प्रहरी प्रधान कार्यालयको गेटमा पुगेर होहल्ला गर्नेदेखि माथिल्ला दर्जाका प्रहरीलाई हातपात गर्नेसम्मका घटनामा पारश मुछिएका छन्। उनी प्रहरीप्रति दरबारमा रहेदेखि नै इरिटेड थिए।

'दरबारमा एडीसीले प्रहरीको बारेमा केही कुरा लगाउने गरेकाले अहिलेदेखि होइन, पहिले देखि नै पारसको प्रहरीप्रति केही आक्रोश र इरिटेसन देखिन्छ,' पूर्व डीआइजी ठकुरीले भने।

पारस शाहको यस्ता हर्कतले उनीप्रति मानिसले हेर्दे दृष्टिकोण नै परिवर्तन भएको छ। देशबाट राजतन्त्र हटेको एक दशक भइसकेपछि राजसंस्थाप्रति आस्था राख्ने एउटा तप्कालाई यस्तो हर्कतले नमीठो असर पुर्‍याएको छ। त्यस्तै, अहिलेका राजनीतिक दलको पारा हरेर राजसंस्था नै ठिक हो कि भनेर धुर्मुराइरहेकालाई पनि सोच्न बाध्य पारेको छ। त्यसभन्दा ठूलो त राजतन्त्र फ्यालेर गणतन्त्र ल्यायौं भन्दै कुर्लिनेहरूका लागि राजतन्त्रसँग जोडिएका पात्रले कानुन कार्यान्वयन गर्ने पक्षकै नै खिल्ली उठाउँदा आम सर्वसाधारणमा कस्तो असर पर्ला?

https://pahilopost.com/content/20210731134358.html