१७ साउन, सिन्धुपाल्चोक । भ्रेमाथाङमा गत असार १मा बाढीसँगै आएको पहिरोले क्षति पुर्‍याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र करोडौं मूल्यका खेत बगाएको छ । बिस्तारै सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढीपीडित फेरि विस्थापित भएका छन् ।

हेलम्बु-१ का आशा लामाले भने, ‘बस्ने ठाउँ नभएर होस्टेलमा बसेका थियौँ यहाँ पनि जोखिम बढ्यो अब कहाँ बस्ने ?’ उनीजस्तै ९० परिवारको घर असार १ को पहिराले पूर्ण क्षति भएर पाल, टहरा र आफन्तकामा आश्रय लिएर बसेका छन् । हेलम्बुकै सरस्वती मगर घाम र पानीका बेला पालमा जीवन गुर्जान गाह्रो भएको गुनासो गर्छिन् ।

मेलम्ची बजारवासीको पनि उस्तै पीडा छ । केही आफ्ना घर पसल सफा गरी सरिसकेका थिए तर शनिबारको बाढीपछि उनीहरु फेरि सुरक्षित स्थानतर्फ लागेका छन् ।

शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका २० घरटहरा बगाएको छ । बाढीले रेडियो मेलम्चीको भवन पनि बगाएको छ । पक्की र कच्ची गरी २० घर टहरा बगाएको र तीन घर डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

उनका अनुसार असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर फेरी गएरातिको बाढीले बगाएको हो । ती घर खाली थिए । बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीय हस्त पण्डितले दिनुभएको जानकारीअनुसार राति ७ :४५ बजे पुल बगाएको हो । मेलम्ची– ७ र ८ पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पको यो पुल थियो । पुल बगाएसँगै अब यो भेगमा सवारी साधानको आवतजावत बन्द भएको छ ।

त्यस्तै ग्यालथुमको एउटा झोलुङ्गे पुल बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । अहिले ग्याल्थुमका ४० घर जोखिममा परेका छन् । अब मेलम्ची बजारदेखिमाथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए । खोलामा लेदोसहितको बाढी आएको र ‘बाढी घट्ने, बढ्ने’ भइरहेको उनको भनाइ थियो ।

हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बुमा सवारीसाधन जान नसकेको त्यहाँका नगरप्रमुख डम्बर अर्यालले जानकारी दिए ।