१७ साउन काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कोरोना भाइरस नियन्त्रण सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । उनले कोरोनाको तेस्रो लहर आउनुअघि नै सरकार आवश्यक तयारीमा जुटिसकेको बताए ।

आइतबार गृहमन्त्रालयमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै गृहमन्त्री खाँणले कोरोना नियन्त्रण चुनौतिपूर्ण रहेको उल्लेख गर्दै भने, ‘त्यसका लागि सरकारका सबै निकायबीच सहकार्य र समन्वय आवश्यक छ । कोरोना नियन्त्रण राज्यको मूल दायित्व नै हो । राज्यका सबै संयन्त्रहरुको प्रभावकारी परिचालन आवश्यक छ ।

उनले स्वास्थ्यराज्यमन्त्री श्रेष्ठलाई कोरोना खोप वितरणदेखि नियन्त्रण कार्यमा गृहमन्त्रालयसँग समन्वयका लागि आग्रह गरे । उनले होल्डिङ सेन्टर निर्माण कार्यलाई तीब्रता दिनुपर्नेमा जोड दिए । साथै गृहमन्त्री खाँणले सीमा नाकामा पनि खोप लगाउने व्यवस्था गर्न स्वास्थ्यमन्त्रालयलाई आग्रह गरे ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारी अस्पतालमा अक्सिजनको अभाव हुन नदिन अक्सिजन प्लान्ट निर्माण कार्य अगाडि बढाइएको जानकारी गराए ।

उनले भारतबाट आउने नेपाली नागरिकलाई सीमा नाकामा खोप लगाउने व्यवस्था गर्न मन्त्रालयले काम अगाडि बढाएको बताए ।