१८ साउन, काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरवारस्थित संसद भवनको अवलोकन गरेका छन् ।

सभामुख सापकोटाले सोमबार दिउँसो भूकम्पले क्षतिग्रस्त सो संसद भवनको अवलोकन गरेका हुन् । सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सम्बन्धित पक्षसँग छलफल गरी निर्माणको कामलाई तत्काल सुरु गराउने बताए ।

भूकम्पले क्षति बनाएपछि अलपत्र अवस्थामा रहेको यो भवन ऐतिहासिक र पूरातात्विक महत्व रहेको उल्लेख गर्दै सभामुख सापकोटाले यसको सदुपयोग गर्ने उद्देश्यका साथ आफूले अवलोकन गरेको पनि स्पष्ट पारे।

उनले भने, ‘सम्बन्धित पक्षसँग छलफल गरेर आजैबाट यसको ऐतिहासिक तथा पूरातात्विक महत्व कायम हुने निर्माण कार्य सुरु गर्ने योजना बनाएको छु । त्यसका लागि प्राविधिकहरुसँग पनि बसेर यसको पुननिर्माण गर्ने कि सवलीकरण गरेर जाने भन्ने विषयमा प्राविधिकहरुसँग परामर्श गरिनेछ ।’