१९ साउन, डोटी । डोटी शिखर नगरपालिकाका ३१ वर्षीय रमेश जोशी (नाम परिवर्तन) केही दिनअघि डोटी जिल्ला अदालत आए । उनी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने भन्दै निवेदन बोकेर आएका थिए । उनले निवेदन दर्ता गराए । तर तेश्रो दिनै उनले श्रीमान्-श्रीमतीबीच सहमति भएको भन्दै आफ्नो निवेदन फिर्ता लिए ।

पछिल्लो समयमा डोटीमा सम्बन्ध विच्छेदका घटनाहरु बढ्दै गएको तथ्यांकले देखाएको छ । डोटी जिल्ला अदालतले दिएको जानकारी अनुसार डोटीमा आर्थिक वर्ष ०७७/०७८ मा सम्बन्ध विच्छेदका लागि २५ निवेदन परेका छन् । आर्थिक वर्ष २०७५/७६ र ०७६/०७७ मा १९ वटा सम्बन्ध विच्छेदका निवेदन दर्ता भएका थिए ।

विभिन्न कारणले सम्बन्ध विच्छेदका घटनाहरु बढेका अधिवक्ता कैलाश साउँद बताउँछन् । “सम्बन्ध विच्छेदको मुख्य कारण श्रीमान्-श्रीमतीले एक-अर्कालाई राम्रोसँग नबुझेरै बिहे गर्नु हो” अधिवक्ता साउँदले भने, ”लामो समयसम्म श्रीमान्-श्रीमती अलग बस्नु, पारिवारिक व्यवस्थापनमा ध्यान नदिनु पनि सम्बन्ध विच्छेदको कारण हो ।” श्रीमान् वैदेशिक रोजगारीमा जाँदा श्रीमतीलाई शहरमा राख्न खोज्ने परिपाटीले पनि यस्ता घटनाहरु बढ्ने गरेको साउँदको बुझाइ छ ।

पुरुषले वैदेशिक रोजगारमा जाँदा पारिवारिक व्यवस्थापन ध्यान नदिने गरेका कारण सम्बन्ध विच्छेदका घटनाहरु बढेको बताउँछिन् डोटीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी । ”सामाजिक सञ्जालको दुरुपयोगले पनि परिवारमा फाटो परिरहेको छ” जोशीले भनिन्, ‘अचेल लहैलहैमा बिहे त गरिहाल्छन् तर सम्बन्ध टिकाउन सक्दैनन् ।”

जिल्ला समन्वय समिति डोटीकी उप प्रमुख सशी सोवले सम्बन्ध विच्छेदका घटना बढ्नुको यही मात्र कारण हो भनेर भन्न नसकिने बताए । ”तर पनि पछिल्लो समयमा हेर्दा महिला र पुरुषको एकै प्रकारको पारिवारिक अवस्था नहुनु, सानै अपरिपक्को उमेरमा विवाह गर्नु, बेरोजगार हुनु, श्रीमानको शहरको र श्रीमतीको गाउँको बसाइ र सामाजिक संजालको दुरुपयोगका कारण घटनाहरु बढ्ने गरेको बताइन् ।