१९ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक आज बस्दै छ । क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्न बैठक बस्न लागेको एक नेताले बताए ।

बैठक दिउँसो २ बजेपछि नेता प्रकाशमान सिंहको निवास ठमेलमा बस्ने तय भएको प्रकाशमानको सचिवालयका एक सदस्य युपी लामिछानेले जानकारी दिए ।

कांग्रेसमा क्रियाशील सदस्यताको विवादका कारण आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ । यसपटक महाधिवेशन गर्नैपर्ने बाध्यताका बीच पार्टी सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए । देउवा सरकार सन्चालन र महाधिवेशन दुवैको दबाबमा छन् ।

प्रधानमन्त्री पद सम्हालेको तीन साता कटिसके पनि उनले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।