१९ साउन, गलकोट । कोभिड-१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा-बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र स्विङ कोरोना कहरले बढी प्रभावित भएको छ ।

विसं २०७७ कात्तिक १५ देखि सञ्चालनमा आएको बन्जी केही समयमै कोरोनाका कारण बन्द भएको थियो । कोरोनाको दोस्रो लहरअघि पर्यटकले भरिभराउ भइरहेको समयमा पुनः बन्द हुन पुगेको बन्जी र स्विङ पुल अहिले फेरि साहसिक पर्यटकको पखाइमा छ ।

झण्डै २० करोडको लगानीमा सञ्चालनमा आएको बन्जी निषेधाज्ञा खुकुलो भएसँगै पुनः सञ्चालनमा आएको बन्जी र स्विङ सञ्चालन गर्ने द क्लिफ प्रालिले जनाएको छ । दोस्रो लहरपछि बन्द भएको उक्त साहसिक परियोजना निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य मापदण्ड अपनाएर एक हप्तादेखि सञ्चालनमा आएको द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

द क्लिफ प्रालिअन्तर्गत बन्जी, स्विङ, स्काई साइक्लिङ र बागलुङ नगरपलिका-१४ नारायणस्थानमा द क्लिफ रिसोर्टसमेत सञ्चालनमा छ । निषेधाज्ञामा स्काई चियर, प्रार्थना हात लगायतमा अन्य संरचना थपिएका छन् । उक्त संरचना बागलुङको बलेवामा छन् । “अहिले २०÷२५ जना पुल र रिसोर्ट अवलोकन गर्ने र आठ/दस जनाले बन्जी र स्विङ गर्न थालेका छन्, स्वास्थ्य मापदण्ड अपनाएर एक हप्तादेखि शुरु गरेका छौँ”, अध्यक्ष कार्कीले भने, “दुई महिना ठप्प भयो, अहिले त कर्मचारीलाई तलब खुवाउन पुग्ला, पूर्णरूपमा कोरोना साम्य नभएसम्म लक्ष्यअनुरूपको साहसिक पर्यटक आउन समस्या छ, म्याग्दी, मुस्ताङलगायतका पदमार्ग खुल्ला भएमा बल्ल साहसिक पर्यटक आउनेछन्, अहिले साहसिक पर्यटकको पखाइमा छौँ भन्दा हुन्छ ।”