१९ साउन, वीरगञ्ज । अघिल्लो वर्षको तुलनामा प्रदेश २ मा गत आर्थिक वर्षमा आपराधिक घटना वृद्धि भएको देखिएको छ । प्रदेश प्रहरी कार्यालय प्रदेश २ ले आर्थिक वर्ष २०७७/७८ मा आपराधिक गतिविधिमा ४.४७ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ ।

प्रदेशभर अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ८९३ वटा मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्ष २०७७/७८ मा ७ हजार २०१ घटना दर्ता भएका छन् ।

प्रदेशमा ज्यान मार्ने उद्योग, ज्यान सम्बन्धी विभिन्न मुद्दा, आत्महत्या संगठित तथा आर्थिक अपराध महिला तथा बालबालिका सम्बन्धी अपराधका घटनामा वृद्धि भएको प्रदेश प्रहरी कार्यालय प्रदेश २ का प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईं बताउँछन् ।

‘अशिक्षा, अभाव, गरीबी, पछौटेपनकै कारण आपराधिक घटनामा वृद्धि भएको देखिन्छ, कोभिड महामारीले गर्दा धेरैलाई लामो समय घर बस्न बाध्य बनायो, खाली दिमाग सैतानको बास भनेजस्तै घरभित्रै हुने आपराधिक घटना बढका छन्,’ उनले भने, ‘अर्कोतर्फ प्रहरीमा उजुरी गर्नुपर्छ भन्ने धारणा बढेकाले घटना दर्ता बढेको हुन सक्छ ।’

कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेशका ८ वटै जिल्लामा निषेधाज्ञा लगाइएका कारण प्रहरीले भौतिक उपस्थितिमा गर्ने गरेका अपराध विरुद्धका सचेनामूलक कार्यक्रम गर्न नसकेको उनले बताए ।

प्रदेश २ मा गत आर्थिक वर्षमा कर्तव्य ज्यानका ९३, खुन डाँका २, ज्यान मार्ने उद्योग ३१०, गर्भपतनका ९, भवितव्य ज्यान ४६७, ज्यान सम्बन्धी १२८, फुटकर ज्यान ९०, आत्महत्याका ९५८,  संगठित तथा आर्थिक अपराधका १ हजार ५४३ वटा घटना दर्ता भएका थिए ।