१९ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा थुनुवा मृत फेला परेको घटनामा एक प्रहरी जवानलाई निलम्बन गरिएको छ । यस्तै प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रदेश प्रहरी कार्यालय तानिएको छ ।

लक्ष्मीनियाँ गाउँपालिका–२ का ४२ वर्षीय बिलटु रविदास गत शुक्रबार हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उक्त घटनामा जिल्ला प्रहरी धनुषाका डीएसपी मकेन्द्रकुमार मिश्रलाई प्रदेश प्रहरी कार्यालय तानिएको प्रदेश प्रहरी प्रमुख डीआइजी उमेश रञ्जितकारले जानकारी दिए ।

यस्तै हिरासत कक्षमा ड्युटीमा खटिएका प्रहरी जवानलाई भने निलम्बन गरिएको उनले बताए । घटनाको छानविनका लागि डीएसपीलाई प्रदेश प्रहरी तानेर जवानलाई निलम्बन गरिएको उनले बताए ।

दाजुभाइको विवादमा ज्यान मार्ने तथा अंगभंग मुद्दामा पक्राउ परेका रविदासलाई जिल्ला अदालतले २ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, धरौटीवापतको रकम तिर्न परिवारले जोहो गरिरहेकै अवस्थामा उनी प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।