उच्च शिक्षाको अध्ययन अनुसन्धान गर्ने थलो विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान तालाबन्दीको मारमा परेका छन् । शिक्षक, कर्मचारी र विद्यार्थीले आफ्ना माग पूरा गराउन विश्वविद्यालय र प्रतिष्ठानलाई निशाना बनाएका हुन् । 

 

मध्यपश्चिम विश्वविद्यालयले साउन १२ देखि भौतिक उपस्थितिमा स्नातक र स्नातकोत्तर तहको परीक्षा लिने तयारी गरेको थियो । तर विद्यार्थी भौतिक तयार भएनन्, अनलाइनबाट परीक्षा लिने व्यवस्था गर्न भने । विश्वविद्यालय व्यवस्थापनले सुनेन । विद्यार्थी संगठनहरूले साउन ७ मा पदाधिकारीको कार्यकक्षमा ताला लगाइदिएपछि परीक्षा नै अनिश्चितकालका लागि स्थगित गरिएको छ । त्यहाँ पदाधिकारीमाथि मनोमानी गरेको आरोपमा प्राध्यापकहरूले असार ३१ मै ताला लगाएका थिए । 

 

 

मुलुककै जेठो र ठूलो, त्रिभुवन विश्वविद्यालयमा पनि तालाबन्दी सामान्यजस्तै भएको छ । यसपालि विश्वविद्यालयका पदाधिकारीको कार्यालयमा आंशिक अध्यापकले १० दिन ताला लगाए । पहुँच प्रयोग गरेर पढाउन थालेका उनीहरुकै दबाबमा विश्वविद्यालयको सेवा आयोगले भदौ १५ गतेका लागि तय गरेको खुला प्रतिस्पर्धाको परीक्षा स्थगित नै स्थगित गरेको छ । 

विश्वविद्यालयसरहकै मान्यता पाएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान डेढ महिनादेखि अस्तव्यस्त छ । उपकुलपति, रजिष्टार लगायत पदाधिकारीले भ्रष्टाचार गरेको आरोपमा चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थी

आन्दोलित छन् । शैक्षिक वातावरण खल्बलिएको छ ।

 

एकातिर राजनीतिक भागबण्डामा नियुक्त पदाधिकारी शैक्षिक उन्नयनभन्दा आफ्नो स्वार्थमा केन्द्रित हुँदा प्राज्ञिक संस्थाहरु आन्दोलनका केन्द्र बनेका छन् । त्यस्तै उनीहरुको व्यवस्थापकीय अक्षमता र राजनीतिक संगठनबीच प्रभाव पनि विश्वविद्यालयमा अराजकता बढ्नुको मुख्य कारण देखिएको छ ।

https://kantipurtv.com/news/2021-08-04/20210804093956.html?fbclid=IwAR1vxC_xxPA2t9N4ai6yLD0QrjNE2zy9PkPLqvg8u5js-xOvu-Sv8XeT9d0