काठमाडौं । नेपाल टेलिकमको सिस्टममा बग अर्थात सुरक्षा कमजोरी देखिएको छ । कम्पनीको सिममा फोरजी एक्टिभ गर्दा प्राप्त हुने अफरमा यस्तो कमजोरी देखिएको हो ।

 

टेलिकमले वितरण गरेका मोबाइल नम्बरमा *444# डायल गरी फोरजी एक्टिभ गर्ने सुविधा छ । यस्तोमा कम्पनीले अहिले फोरजी नेटवर्कमा मात्रै चल्नेगरी (फोरजी नेटवर्क) ५०० एमबी र जुनसुकै नेटवर्कमा चल्ने (टुजी, थ्रीजी र फोरजीमा) ५०० एमबी गरी एक जीबी डेटा निःशुल्क दिँदै आएको छ ।

जसको भ्यालिडिटी (मान्य अवधि) दुई दिनसम्म हुन्छ । कुनै पनि मोबाइल नम्बरमा पहिलो पटक फोरजी सेवा सुचारु गर्दा एक पटक उपलब्ध हुने भनिएको यो अफरको प्याकेज पटक पटक प्राप्त गर्न सकिन्छ ।

 

अर्थात तपाईंले हरेक २४ घण्टामा आफ्नो मोबाइलमा *444# डायल गरी फोरजी सेवा एक्टिभ गर्नु भयो भने एक जीबी डेटा निःशुल्क पाउन सक्नुहुन्छ । साइबर सुरक्षा अनुसन्धानकर्ता राजेश रोयका अनुसार टेलिकमको नेटवर्कमा यो सेवा विगत दुई महिनाभन्दा अघिदेखि देखिन थालेको हो ।

 

सामान्यतया फोरजी सेवा एक पटक मात्र एक्टिभेट गरे पुग्ने भएकाले धेरै प्रयोगकर्ताले टेलिकमको यो समस्या थाहा नपाएका हुनसक्ने साइबर सुरक्षा अनुसन्धानकर्मी रोयको भनाई छ । यद्यपि धेरै मोबाइल नम्बरमा पुनः फोरजी एक्टिभेट गर्दा यस्तो डेटा प्राप्त हुने भए पनि केही मोबाइलमा नहुन पनि सक्छ ।

 

तर टेलिकमले यस किसिमको समस्या नरहेको दाबी गरेको छ । केही नम्बरमा टेलिकमको सिस्टमबाटै फोरजी एक्टिभ गरिएको अवस्थामा पछि गएर एक्टिभेसन कोड राख्दा एक पटकका लागि त्यस्तो अफर प्राप्त भएको हुनसक्ने कम्पनीका प्रवक्ता रञ्जित लोहियाले बताए ।

https://www.techpana.com/2021/97169/?fbclid=IwAR3MgEOqFKRw0QIDLKFOchusxKRMyS_jZLQdvpYkAtm4C2VEBJbC6dRPFXY