२० साउन, काठमाडौं । हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको हत्या हुँदा उनकी पत्नी पनि घाइते भएकी थिइन् । यो घटनामा उनी एक्लो प्रत्यक्षदर्शी हुन् । निको हुने क्रममा रहेकी मार्टिन मोइसेले हालै मात्र राष्ट्रपतिको हत्याको विषयमा खुलेर कुरा गरेकी छन् ।

राष्ट्रपतिको हत्या हुँदा उनको हात र पाखुरामा गोली लागेको थियो । गोली लागेर उनी खाटको एकापट्टि लडेकी थिइन् र मुखसम्म रगत आइपुगेको थियो ।

‘मैले उनको (राष्ट्रपति जोभेनेल) हत्या हुनुभन्दा पहिला तिनीहरूको बुट मात्र देखेको थिएँ,’ मार्टिनले सुनाइन् । उनी भुइँमा गोली लागेर लडिरहेको बेला गोली हानी हत्या गरिएका उनका पतिको शव अर्कोपट्टि लडिरहेको थियो ।

‘त्यसपछि मैले आफ्नो आँखा बन्द गरें र अरु केही पनि देखिनँ,’ उनले त्रासदीपूर्ण घटनाको स्मरण गर्दै भनिन् ।

आँखा बन्द गरेपछि उनले केही नदेखे पनि हत्या गर्ने समूहले आफ्ना पतिले राखेको फाइलमा केही खोजिरहेको आवाज सुनेकी थिइन् । ‘त्यो होइन, त्यो होइन’, स्पेनिस भाषामा उक्त समूहले बोलेको मार्टिन सम्झिन्छिन् । अन्तिममा उनीहरूले भने, ‘हो, यही हो ।’

हत्याराहरू बाहिर निस्किने बेला उनीहरूमध्ये एउटाले उनको खुट्टा चलायो र अर्कोले अनुहारमा फ्ल्यासलाइट बालेर अझै जिउँदो छिन् कि भनेर हे¥यो ।