२० साउन, काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम समेत खस्किँदै गएको छानबिन कार्यदलले औंल्याएको छ । सरकारले गठन गरेको छानबिन कार्यदलले प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक स्तर खस्काउने कैयौं गतिविधि भइरहेको भन्दै संलग्नमाथि कारबाही गरी सुधार हुनुपर्ने सुझाव दिएको छ ।

शिक्षाध्यक्षमाथि शैक्षिक क्रियाकलाप नियन्त्रण गर्न नसकेको आरोप छ । नियमित रूपमा शिक्षकहरूको सामान्य रेखदेख, नियन्त्रण र मूल्यांकन तथा अध्ययन, अध्यापन र अनुसन्धान क्रियाकलापको निरीक्षण अनुगमन गर्न नसकेको भन्दै कार्यदलले प्रतिवेदनमार्फत सक्रियता देखाउन सुझाव दिएको छ ।

प्रतिष्ठानका केही प्राध्यापक तथा अध्यापकले बिना अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धानमूलक रचना प्रकाशित गरेको आरोप लागेको छ । त्यसबाट बौद्धिक चोरी भएको भनी लिखित उजुरी नै परेको थियो । त्यो विवाद उच्च अदालतमा पुगेको छ । प्रतिवेदनमा भनिएको छ, ‘यससम्बन्धी मुद्दा पनि विचाराधीन रहेको देखिनुले समग्रतामा प्राज्ञिक आचरण पालना गर्नमा कमजोरी रहेको देखाउँछ ।’

प्रतिष्ठानमा नियमित रूपमा हुनुपर्ने प्राज्ञिक क्रियाकलापहरु अवरुद्ध छन् । एकेडेमिक काउन्सिलको बैठक हुन सकेको छैन । विभागीय प्रमुखसँगको बैठकमा नियमित छैन । प्राध्यापक र विद्यार्थीको बीचमा नियमित अन्तर्क्रिया हुन पनि सकिरहेको छैन । छानबिन कार्यदलका अनुसार, कोभिडको कारण देखाइ धेरै परीक्षाहरू स्थगित छन् जबकि अरु बोर्डहरूले परीक्षा सञ्चालन गरिरहेका छन् ।

अध्यापकहरुमाथि पूरै शैक्षिक समय नपढाउने र प्रयोगात्मक कक्षामा नजाने भन्ने आरोप छ । पठनपाठनका लागि आवश्यक स्रोतसाधनको पनि अभाव भएको गुनासो बढेको छ । विभागीय प्रमुखसँग सोधपुछ र परामर्श नै नगरी नयाँ कार्यक्रम निर्माण गरेको आरोप पदाधिकारीहरूमाथि छ ।