इलाम : संघाई समूहलाई दिइएको ठेक्का रद्द गर्न स्थानीय तहले माग गरेका छन्। २१ वर्षअघि सरकारले व्यवसायीक घराना संघाई समूहलाई ७ वटा चिया बगानको ठेक्का दिएको थियो। 

इलामको सूर्योदय नगरपालिकाको संयोजनमा फिक्कलमा सम्पन्न इलाम र झापाका पाँच स्थानीय तहका प्रमुखको बैठकले उक्त ठेक्का रद्द गर्न माग गरेको हो। बैठकले ‘नेपालको परिवर्तित राज्य संरचनाअनुसार सम्झौता समयसापेक्ष नभएकाले भंग गरी सम्बन्धित स्थानीय तहलाई बगान सञ्चालनको जिम्मा दिन’ संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको हो। 

बैठकले बगान व्यवस्थापनले स्थानीय सरकारलाई लामो समयदेखि कर भुक्तानी नगरेकाले साउन मसान्तभित्रमा कर बुझाउनसमेत पत्राचार गर्ने निर्णय गरेको छ। सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईको अध्यक्षतामा बसेको बैठकमा झापाको मेची नगरपालिकाका मेयर विमल आचार्य, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी र इलामको माई नगरपालिकाका मेयर दीपककुमार थेवे सहभागी थिए।

 सरकारले २०५७ असार १४ गते संघाई समूहलाई ५० वर्षका लागि बगान भाडामा दिएको थियो। स्थानीय सरकार आएपछि संघाई समूह र स्थानीय सरकारबीच पटक–पटक विवाद हँुदै आएको छ। यसअघि स्थानीय तहहरूले एक्ला एक्लै बगान फिर्ताको माग संघीय सरकार समक्ष गर्दै आएका थिए।
http://annapurnapost.com/news/184097