२१ साउन, काठमाडौं । नयाँ सरकार गठन भएको तीन हप्ता पूरा भइसक्दा पनि विभागीय मन्त्री नपाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा उच्च तहका कर्मचारीको पद पनि रिक्त भएको छ ।

मन्त्रालयमा एक सचिव पद रिक्त छ भने तीन वटा महत्वपूर्ण महाशाखासमेत नेतृत्वविहीन भएको छ । उमेर हदका कारण कृषि विकास तर्फका सचिव र दुई सहसचिव तथा पशुपंछीतर्फका एक सहसचिवले अवकाश पाएपछि यी निकाय रिक्त छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मातहतमा राखेको मन्त्रालयलाई अहिले मन्त्रिपरिषद् कार्यालयबाट समन्वयको काम गरिरहेको अधिकारीहरु बताउँछन् ।

‘प्रधानमन्त्रीको तर्फबाट जिम्मेवारी तोकेर कोहीपनि मन्त्रालयमा राखिएको छैन, मन्त्रिपरिषद् कार्यालयबाट पशुपन्छी सचिवमार्फत समन्वय गरिएको छ,’ एक अधिकारीले भने ।

मन्त्रालयको खाद्य सुरक्षा महाशाखा, कृषि विकास महशाखा र पशु स्वास्थ्य महाशाखामा तत्काल पदपूर्ति जरुरी रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । मन्त्री नहुँदा मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा पनि कोही पनि अधिकारी तोकिएका छैनन् ।

खाली भएका महाशाखाको जिम्मेवारी मन्त्रालयकै अन्य महाशाखा प्रमुखहरुलाई तोकिएको छ । मूल नेतृत्वको अभावमा कृषिसंग सम्बन्धित कुनै ठूलो मुद्धामा समन्वय र जिम्मेवारी लिने अधिकारी नै अभाव भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।