कुनै सिनेमाको प्लट जस्तै चाखलाग्दो कहानी छ, किरण गजमेरको । उनका पिता भुटानबाट लखेटिएर आफ्नो मूलथलोमा शरण लिन आइपुग्छन् । सम्पूर्ण जायजेथा  मात्र होइन, जीवनका योजना र सपना पनि उतै छाडिन्छन् । भाग्दै, लुक्दै मातृभूमिसम्म आइपुग्दा उनीसँग सुदूर अतीतका स्मृतिहरु मात्र बाँकी रहन्छन् । रित्तो हात, रित्तो जीवन, रित्तो सपना ।

झापाको खुदुनाबारी शिविरबाट अब नयाँ जीवनको थालनी गर्नुपर्ने हुन्छ । शरणार्थी शिविरमै उनको घरजम हुन्छ । त्यही शिविरमा जन्मिन्छन्, किरण ।

कस्तो विडम्बना ! जन्मदै अनागरिक ।

एउटा अवोध बच्चाको न निश्चित भूगोल छ, न भविष्य । न स्थायी चिनारी नै छ, न दिगो जीवन । बस्, उनका लागि त्यही झुपडी नै सम्पूर्ण संसार । त्यही संसारमा खेल्छन्, हुर्कन्छन् । उनलाई थाहा छैन, आफूले लडिबुडी गरेको यो आँगन, यो माटो एकदिन बिरानो हुनेछ ।

एकदिन आफू जन्मिएको घर, आफूले खेलेको आँगन, आफूसँग रमाउने दौंतरी सबै छाडेर जानुपर्ने हुन्छ । शरणार्थीकै रुपमा उनी आमाबुवासहित अमेरिका पुग्छन् । अमेरिका, जसले उनलाई भौतिक सुखसयल दिन्छ । तर, असली चिनारी दिंदैन । आखिर त्यहाँ पनि उनी परदेशी हुन् ।

उनी आफ्नो असली चिनारी खोज्दै जन्मभूमि फर्कन्छन् ।