२१ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले  वैदेशिक रोजगारीबाट र्फकनेहरुले विमानस्थल र नाकाका भन्सारमा दुःख पाइरहेको गुनासोबारे भन्सार विभागको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ्ग लिने क्रममा मन्त्री शर्माले  भने,’जसले विदेशबाट विप्रेषण पठाएका छन्, घर र्फकंदा उसैले बोकेर ल्याएको एउटा मोबाईल र एउटा टिभी सेटको विषयलाई लिएर भन्सारमा सास्ती पाउने गरेको किन ?’

उनले अघि भने ,’वैदेशिक रोजगारीबाट र्फकने नेपालीहरुले ल्याउने घरायसी प्रयोजनका सामानमा भन्सार छुट दिन सकिन्छ कि सकिँदैन ?’

कर्मचारी सरुवाको प्रसंगमा मन्त्री शर्माले कसैको अनुहार नहेरी जसले भन्सार राजस्व बढाउने लक्ष तोकेर त्यसलाई पूरा गर्ने प्रतिवद्धता जनाउँछ र भन्सार प्रशासनलाई सेवाग्राहीमैत्री बनाउने प्रतिवद्धता गर्छ, अन्तरवार्ता लिएर त्यस्तो कर्मचारीलाई भन्सार कार्यालयहरुमा सरुवा गर्न सुझाव दिए ।

उनले नेपाल समेत सहभागी भएका अन्तर्राष्ट्रिय व्यापार सम्झौताहरु नेपालको लागि परिणामुखी भए नभएको सम्बन्धमा अध्ययन जरुरी भइसकेको बताए ।  तिनको अध्ययन समीक्षा गरेर आवश्यक कदम चाल्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ ।

आफूले यतिखेर राजस्व छुटका विभिन्न फाइलहरुमा निर्णय गरिरहेको प्रसंग उल्लेख गर्दै मन्त्री शर्माले भने,’यस्ता छुट सुविधाहरु ताप्लेजुङ्ग र हुम्लाका किसानहरुसम्म पुग्ने गरेको पाइएन । आधारभूत तहका जनताले पनि छुट सुविधाको उपयोग गर्न पाउनुपर्‍यो । सामान्य खालका करदातालाई कस्ने ठूलठूलाहरुलाई मात्र छुट दिने काम भइरहेको देखियो ।’