सिड्नी : विराट कोहलीको कप्तानीमा रहेको भारतीय क्रिकेट टोलीले अस्ट्रेलियामा ऐतिहासिक सफलता हात पारेको छ। भारतले घरेलु टोली अस्ट्रेलियाविरुद्घको चार टेस्टको शृंखला २-१ ले जित्दै ऐतिहासिक सफलता हात पारेको हो। अन्तिम दिन सोमबारको खेल वर्षाका कारण सम्भव नभएपछि चौथो तथा तथा अन्तिम टेस्ट बराबरीमा सकियो। चौथो टेस्ट बराबरीमा सकिएलगत्तै भारतले शृंखला आफ्नो पक्षमा पारेको हो।

चौथो टेस्टमा टस जिती ब्याटिङको निर्णय लिएको भारतले सात विकेटको नोक्सानीमा ६ सय २२ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको थियो। अस्ट्रेलिया भने पहिलो पालीमा तीन सय रनमा समेटिएपछि फलो अनमा परेको थियो। आफ्नै मैदानमा खेलिएको टेस्ट क्रिकेटमा अस्ट्रेलिया ३० वर्षपछि फलो अनमा परेको हो। 

फलो अनमा परेलगत्तै दोस्रो पाली खेल्न आएको अस्ट्रेलियाले चौथो दिन आइतबारसम्म कुनै पनि विकेट नगुमाई ६ रन बनाएको थियो। तर, पाँचौं दिनको खेल वर्षाका कारण सम्भव नभएपछि चौथो टेस्ट बराबरीमा सकिन पुग्यो।

अस्ट्रेलियन भूमिमा खेल्न सुरु गरेको ७१ वर्षपछि भारतले टेस्ट शृंखला जितेको हो। भारतीय टोलीले अस्ट्रेलियामा सन् १९४७÷४८ मा पहिलो पटक टेस्ट क्रिकेट खेलेको थियो। अस्ट्रेलियन भूमिमा आफ्नो कप्तानीमा पहिलो पटक टेस्ट शृंखला जित्दा कोहली सबैभन्दा खुसी देखिए।

‘मेरो कप्तानीमा पहिलो पटक अस्ट्रेलियालाई उसैको भूमिमा हराएर टेस्ट शृंखला जित्दा अत्यन्तै खुसी लागेको छ’, कोहलीले भने, ‘यो मेरा भारतीय क्रिकेटकै लागि महत्वपूर्ण क्षण हो।’

भारतीय टोली अस्ट्रेलियन भूमिमा टेस्ट शृंखला जित्ने पहिलो एसियाली राष्ट्र पनि बनेको छ। यसअघि इङ्ल्यान्ड, वेस्ट इन्डिज, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले मात्र अस्ट्रेलियामा टेस्ट शृंखला जितेका थिए।

 

http://annapurnapost.com/news/117173