विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड खोपको बूस्टर डोज अर्थात् अतिरिक्त मात्रा वितरण गर्ने योजनालाई कम्तीमा सेप्टेम्बर महिनाको अन्त्यसम्म रोक्न आह्वान गरेको छ। डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले त्यस्तो अस्थायी रोकका कारण प्रत्येक देशमा कम्तीमा जनसंख्याको १० प्रतिशत मानिसले खोप पाउन सक्ने बताएका छन्।

इजरायल र जर्मनीसहित कैयौँ देशरूले कोभिड खोपको तेस्रो मात्रा दिने योजना घोषणा गरेका छन्। तर डा. टेड्रोसले गरिब देशहरू खोप अभियानमा पछाडि परिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

डब्ल्यूएचओका अनुसार कम आय भएका देशहरूले खोप आपूर्ति नभएकाले प्रति १०० जनामा १.५ जनालाई मात्र खोप दिन पाएका छन्। डा. टेड्रोसले त्यस्तो क्रम रोकिएर धेरैजसो खोप कम आय भएका देशमा जानुपर्ने बताए। उनले थपे, 'म डेल्टा भेरियन्टबाट आफ्ना नागरिकहरूलाई बचाउनुपर्ने देशका चासो बुझ्छु। तर यसअघि नै विश्वव्यापी आपूर्तिको धेरै खोप प्रयोग गरिसकेका देशले अझ धेरै त्यो प्रयोग गर्ने कुरा स्वीकार्य हुँदैन।'

उच्च र कम आय भएका देशहरूबीच विद्यमान खाडल कम गर्ने प्रयास भइरहँदा राष्ट्रसङ्घीय स्वास्थ्य निकायबाट अहिले यस्तो आह्वान भएको हो। उसले अर्को महिनासम्ममा सबैजसो देशमा १० प्रतिशत जनसङ्ख्याले खोप पाऊन् भन्ने चाहेको छ। तर अहिलेको क्रमले त्यस्तो लक्ष्य पूरा हुने सम्भव देखिँदैन। हाइटी र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा कसैले पनि खोपको दोस्रो मात्रा लगाएका छैनन्।

केही महिनायता डेल्टा भेरियन्टका कारण उच्च संक्रमण खेपिरहेको इन्डोनेशियामा ७.९ प्रतिशत जनसंख्याले मात्र पूर्ण मात्रा खोप लगाएको आवर वर्ल्ड इन डेटाले जनाएको छ।

यसैबीच इजरेलले ६० वर्षमाथिका मानिसलाई बूस्टर डोज दिन सुरु गरेको छ भने जर्मनीले मोडेर्ना र फाइजर खोप लगाएका मानिसलाई तेस्रो मात्रा दिइने घोषणा गरेको छ।

बेलायतमा जोखिममा रहेको ठानिएका दशौँ लाख मानिसलाई सेप्टेम्बरबाट खोपको अतिरिक्त मात्रा दिन सकिने बताइएको छ। अमेरिकाले खोपको अतिरिक्त मात्रा दिने विषयमा आफ्नो नीति सार्वजनिक गरेको छैन। तथापि ह्वाइटहाउसले बुधवार जनाएअनुसार अमेरिकीहरूलाई खोप सुनिश्चित गर्नेगरी देशबाहिर खोप बाँड्न पर्याप्त खोप उपलब्ध छ।

विपन्न देशहरूलाई खोप दान गर्न डा. टेड्रोसले धनी देशहरूलाई पहिला पनि आह्वान गरेका थिए। मे महिनामै उनले धनी देशहरूलाई बालबालिका र किशोरकिशोरीलाई खोप दिने कार्यक्रम पर सारेर खोप दान गर्न आग्रह गरेका थिए।

सबै देशलाई समानताका आधारमा खोप बाँड्ने कोभ्याक्स कार्यक्रमलाई थप खोप आपूर्ति गर्नमा उनको जोड छ।
http://annapurnapost.com/news/184131