सडक निर्माण गर्न डोजर लगायतका आधुनिक प्रविधि छन् । पुल निर्माणका लागि आवश्यक पर्ने सबै फलामका सामान उद्योगमा बन्छन्, सहजै पाइन्छ । जोड्नका लागि मजदुर र नक्सांकन गर्ने प्राविधिकमात्रै भए पनि झोलुंगे र मोटरेवल पुल कम समयमै निर्माण गर्न सकिन्छ । यो अहिले विकास भएको प्रविधि हो, जसले कामदारको संख्या घटाएको छ र समयमै विकास निर्माणका काम पनि भएका छन् । एक पटक इतिहास सम्झौं । अहिले भएका आधुनिक झोलुंगे र मोटरेवल पुल भएका ठूला ठूला नदी त्यो समय कसरी तरिन्थ्यो होला ? पुल बनाउन आवश्यक सामग्री कसरी बन्थे र जुटाइन्थ्यो ? सडक, विमानस्थल कसरी बन्थे ? आधुनिक प्रविधि नभए पनि ती सबै बनेकै थिए, काम चलेकै थियो । अहिले पनि केही स्थानमा यस्तो संरचना भेटिन्छ ।

इतिहास बोकेका पुराना संरचनालाई नियाल्दा धेरै दुःखले बनाएको पाइन्छ । आवश्यक सबै सामान हाते उद्योगमा निर्माण भएका थिए । जस्तै पुल निर्माणका लागि आवश्यक पर्ने फलामका साङ्लो, तार, बार्न आवश्यक पर्ने फलामका बार र भुइँमा ओच्छ्याउने काठका फलेकहरू । आरनमा कच्चा फलाम कुटेर सामान बन्थे । त्यसलाई आकार र आवश्यक नयाँ रूप दिने काम यो पेसा समालेकाले गर्थे । इतिहासमा उनीहरूले गरेको यस्तो योगदान सराहनीय छ । तर, त्यस्ता काम गर्ने व्यक्ति अझै गुमनाम छन् । उनीहरूको योगदानको चर्चा र सम्मान छैन । यस्तै उदाहरण हुन्, कर्णालीका दलवीरसिंह कामी । आफ्नो ज्ञान र सीपले झोलुंगे पुल निर्माणमा इन्जिनियरसरह बने । तर, उनै इतिहास गुमनाम प्रायः छन् । उनको मृत्यु पनि ४८ वर्षदेखि रहस्यमै छ ।

दलवीरसिंहको सीपले कर्णालीको मुहार फेरियो । भेरी नदीमा पुल नहुँदा गाउँलेले भोगिरहेको सास्ती उनले समाप्त पारे । आफू धनी भएर होइन, भेरीमा पुलको आवश्यकता ठानेर २०१९ सालतिर झोलुंगे पुल निर्माण गरेका थिए । फलामे साङ्लो, छोटो तार र अन्य सामग्री तयार पारेर गाउँलेको सहयोगमा पुल तयार भयो । पुलको इतिहास खोज्दा यो पुलको योगदान महत्वपूर्ण भेटिन्छ । उनले सुर्खेतको रानीघाटमा पहिलो पुल बनाएको जानकार बताउँछन् । दर्जनौं पुल निर्माणमा आफ्नो सीप देखाएका दलवीरले अन्य उपकरण र हेलीकोप्टर समेतको सफल मर्मत गरेको भेटिन्छ । परिवारलाई भन्दा समाज र देशका लागि योगदान दिएका उनको सम्मानमा राज्य बेखबर जस्तै बन्यो आजसम्म । गरिबीले थिचिएको उनको परिवारको अझै पनि दैनिकी चलाउनै मुस्किल छ ।

‘दलवीरको परिवारलाई निःशुल्क घडेरी र घर बनाउन खर्च दिनू’ भन्ने तत्कालीन राजाको आदेश कार्यान्वयन त भएन नै, अहिले पनि उनको योगदान गुमनाम नै भयो । उनको क्षमताको कदर गर्दै जिल्ला पञ्चायतमा सवओभरसियरको जागिर दिएको र राजाले सम्मान गरेको सम्मको तथ्य स्थानीय सुनाउँछन् । ४८ वर्षको उमेरमा कामकै समयमा मृत भेटिएका दलवीरसिंहको सीप पनि उनीसँगै विलीन भयो । आज दलवीर जस्तै देश र समाजका लागि महत्वपूर्ण योगदान दिएका सयौं व्यक्ति राज्यको नगरमा छैनन्, गुमनाम छन् । देशलाई महत्वपूर्ण योगदान दिने सीमित व्यक्तिको चर्चा हुन्छ । उनीहरूको योगदानको गाथा बन्छ । तर, दलवीरसिंह जस्ता व्यक्ति ओझेलमा पर्छन् र उनीहरूको इतिहास हराउँछ वा मेटाउने प्रयास गरिन्छ । अहिले देश संघीयता कार्यान्वयनको चरणमा छ । तीन तहका सरकार छन् । गाउँगाउँमा यस्ता योगदान पुर्‍याउने र उनका परिवारहरू गुमनाम छन् । उनीहरूको योगदानको कदर गरेर सरकारले सम्मान गरोस् । परिवारको अवस्था सुधार होस् । इतिहास भुले वर्तमान हराउन सक्छ । अनि भविष्यका गर्भ पनि अन्धकार हुनसक्छ ।
http://annapurnapost.com/news/184138