काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किने कामदारले साथमा ल्याएको एकथान मोबाइल र टिभीमा समेत भन्सारमा सास्ती पाउँदै आएको प्रति अर्थमन्त्री जनार्दन शर्माले चासो व्यक्त गरेका छन् । बिहीबार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ लिने क्रममा मन्त्री शर्माले यस्तो चासो देखाएका हुन् । 

 

मन्त्री शर्माले भन्सार प्रशासनलाई सरल र जनमुखी बनाउनुपर्नेमा समेत जोड दिए । ‘सेवाग्राहीको सन्तुष्टि महत्वपूर्ण कुरा हो,’ उनले निर्देशनात्मक शैलीमा अगाडि भने, ‘यसमा ध्यान दिँदै इमान्दारिता र पारदर्शितासहित आफ्नो सम्पूर्ण क्षमताका साथ काम गर्नुस् ।’

आफूले राजश्व छुटका विभिन्न फाइलहरूमा निर्णय गरिरहेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री शर्माले यस्ता छुट सुविधा ताप्लेजुङ र हुम्लाका किसानसम्म पुग्न नसकेको बताए । ‘आधारभूत तहका जनताले पनि छुट सुविधाको उपयोग गर्न पाउनुपर्‍यो । सामान्य खालका करदातालाई कस्ने, तर ठूलाहरूलाई मात्र छुट दिने काम भइरहेको देखियो,’ उनले भने । 

 

वैदेशिक रोजगारीबाट फर्किनेहरूले विमानस्थल भन्सारमा दुख पाइरहेको गुनासो आफूले सुनेको उल्लेख गर्दै मन्त्री शर्माले प्रश्न गरे, ‘जसले विदेशबाट डलर पठाएर विप्रेषण बढाएको छ, घर फर्कँदा उसैले बोकेर ल्याएको एउटा मोबाइल र एउटा टिभी सेटको विषयलाई लिएर भन्सारमा सास्ती पाउने गरेको किन ?’ 

 

साथै उनले वैदेशिक रोजगारीबाट फर्कने नेपालीहरूले ल्याउने घरायसी प्रयोजनका सामानमा भन्सार छुट दिन सकिन्छ कि सकिदैन भन्ने प्रश्न समेत राखेका थिए । 

https://www.techpana.com/2021/97593/?fbclid=IwAR0WOaW3AvIWEaeKXMwk2pCt9XZADa5a6-xmsCKiqtRJes4v7WGgsNf44Mg