२२ साउन, चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङमा गएको पहिरो र त्यसले पुर्‍याएको क्षतिबारेमा बागमती प्रदेशका दुई मन्त्रीले स्थलगत निरीक्षण गरेका छन् । लापिलाङको रानीवन पहिरोको शुक्रबार सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले स्थलगत निरीक्षण गरेका हुन् ।

पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री पाण्डेले प्रदेशको यो वर्षकै ठूलो पहिरो सिन्धुपाल्चोकमा र मानवीय क्षति नभए पनि त्यसपछि लापिलाङको पहिरो भएको हुँदा प्रदेश सरकारको प्रत्यक्ष ध्यानाकर्षण भएको र स्थल गतरूपमा निरीक्षणका लागि आफूहरू पहिरो क्षेत्रमा आएको बताए ।

विस्थापित भएका परिवारलाई स्थानीय तहमार्फत तत्काल राहत सामग्री उपलब्ध गराउने काम भइरहेको र स्थायी बसोबासका लागि प्रदेश सरकारले व्यवस्थापन गरिने उनले बताए । पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ र पक्की घर निर्माणका लागि प्रतिपरिवार चार लाखका दरले रकम उपलब्ध गराइने प्रदेश सरकारको नीति रहेकाले सुरक्षित स्थान पहिचानका लागि मन्त्री पाण्डेले गाउँपालिकालाई निर्देशन दिए ।

पहिरोले जग्गा जमिन तथा घर ठूलो मात्रामा क्षति गरेको र सिङ्गो गाउँ नै उच्च जोखिममा रहेका कारण सुरक्षित स्थानमा सरेर बस्नका लागि सामाजिक विकासमन्त्री बस्नेतले आग्रह गरिन् ।

लापिलाङको खहरे रानीवन संरक्षण क्षेत्रबाट गत वर्षको साउनदेखि नै पहिरो जान थालेको र हाल बालीनालीसहित जग्गा कटान गरी पहिरो गाउँसम्मै पुगेपछि थप जोखिम बढेको हो । गत वर्ष आएको पहिरोले नौ घर बगाएको थियो भने २२ घर पहिरोको उच्च जोखिममा रहेका थिए । गत वर्षको पहिरोलाई मध्यनजर गरी समयमा नै पहिरो रोकथाम तथा बस्तीलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न नसक्दा सोही ठाउँबाट आएको पहिराले लापिलाङका सयौं घर हाल उच्च जोखिममा परेका छन् ।