२२ साउन, काठमाडौं । स्वास्थ्य सुरक्षाको माग गर्दै प्रदर्शन गरेका विद्यार्थीलाई ‘विद्यार्थी नेता’ले धम्की दिएको पाटन क्याम्पसका विद्यार्थीहरुले बताएका छन् । कोभिड-१९ संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड शैक्षिक संस्थाहरुले उल्लंघन गर्दै शरीरको तापक्रम जाँच नगरेको, एउटै कक्षामा ६० जना विद्यार्थी राखेपछि पाटन क्याम्पस परीक्षा केन्द्रमा विद्यार्थीले प्रदर्शन गरेका थिए ।

विद्यार्थीले प्रदर्शन गरेपछि परीक्षा हलभित्र अनधिकृत रुपमा पसेर प्लेकार्ड च्यातिदिने, प्रदर्शनमा सहभागीलाई निगरानी गर्ने जस्ता अभद्र व्यवहार देखाएको विद्यार्थीहरुको भनाइ छ । ‘हामीले हाम्रो स्वास्थ्य सुरक्षाको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका थियौं । त्यसपछि परीक्षा हलमा अनधिकृत रुपमा विद्यार्थी नेताहरु पसेर हामीलाई डर देखाउन खोजियो,’ प्रदर्शनमा सहभागी विद्यार्थी मनोज खतिवडाले भने, ‘उनीहरुले देखाएको व्यवहारले हाम्रो ज्यान जोखिममा भएको महसुस भएको छ ।’

ती व्यक्तिहरुले परीक्षा अवधिभर प्रदर्शनमा सहभागी विद्यार्थीलाई विशेष निगरानी गरेको विद्यार्थीहरुको भनाइ छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विद्यार्थीहरुले परीक्षा शुरु हुनुअघि परीक्षा केन्द्र ललितपुरस्थित पाटन क्याम्पसमा ज्वरो आउने, खोकी लाग्ने विद्यार्थीको लागि छुट्टै कोठा व्यवस्थापन नभएकोले ‘मानव जीवनमाथि खेलवाड गरेको र मानव स्वास्थ्यमाथिको ज्यादतीविरुद्घ सांकेतिक प्रदर्शन’ भनेर हातमा प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।