२२ साउन, काठमाडौं। आफूलाई प्रहरीको डीएसपी हुँ भन्दै सुनका बाला लुटपाटमा स‌ंलग्न रहेको आरोपमा प्रहीले एक जनालाई पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण-४ बस्दै आएका ३५ वर्षीय सीताराम गुरुङलाई प्रहरीले काठमाडौंको चावहिलबाट पक्राउ गरेको हो ।

विदेशबाट आएका व्यक्तिहरु पहिचान गरी विमानस्थलको गेटबाहिर बस्ने र एकान्त पारेर प्रहरीको डीएसपी हुँ भन्दै चेकजाँच गर्ने बहानामा सुनका गहना लुटपाट गर्ने गरेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरुङलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्जमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।