काठमाडौं । भनिन्छ, बाहिरी आवरण हेरेर पुस्तकको मूल्याङ्कन गर्न मिल्दैन । ठीक त्यस्तै गरी फाइभजी सपोर्ट गर्ने फोन भन्दैमा आँखा चिम्लेर खरिद गर्नु उचित होइन ।

 

के थाहा तपाईंले फाइभजी सपोर्ट भनेर खरिद गरेको स्मार्टफोनले फाइभजीको सुविधा उपयोग गर्ने मौका दिन्छ वा दिँदैन । त्यसैले फाइभजी स्मार्टफोन खरिद गर्दा केही विशेष पक्षमाथि विचार गर्न जरुरी हुन्छ ।

वास्तवमा एउटा राम्रो फाइभजी स्मार्टफोनका लागि दुई ओटा कुराहरु निकै महत्वपूर्ण हुन्छन् । पहिलो, स्मार्टफोनमा फाइभजी कनेक्टिभिटी हुनु र अर्को फाइभजी नेटवर्कको उपलब्धता । विद्यमान समयमा नेपालमा फाइभजी नेटवर्क उपलब्ध छैन ।

 

तर स्मार्टफोन कम्पनीहरू भने धमाधम फाइभजी स्मार्टफोन बिक्री गरिरहेका छन् । जब फाइभजी नेटवर्क उपलब्ध हुनेछ, त्यसपछि मात्रै ती स्मार्टफोनमा फाइभजीले काम गर्न सक्छ । तर यो तर्क पनि पूर्ण सत्य होइन ।

 

त्यसैले आज हामी फाइभजी स्मार्टफोन खरिद गर्न चाहने प्रयोगकर्ताको सहजताका लागि यस विषयमा चर्चा गर्दैछौँ । विद्यमान समयमा धेरैजसो स्मार्टफोन ब्रान्डले बजारमा फाइभजी स्मार्टफोन ल्याइरहेका छन् ।

 

तर उनीहरुले आफ्नो स्मार्टफोनमा कुन कुन ब्यान्डको फाइभजी सपोर्ट रहेको छ भन्ने कुरा चाहिँ खुलाउँदैनन् । त्यस्ता स्मार्टफोनमा विभिन्न ब्यान्डको फाइभजी दिइएको हुन्छ । वर्तमान समयमा एन ७८ ब्यान्ड सबैभन्दा लोकप्रिय छ ।

तर नेपालमा फाइभजी सञ्चालनमा आउँदा कुन ब्यान्डमा उपलब्ध हुन्छ भन्ने कुरा अहिले नै तय भइसकेको छैन । त्यसैले तपाईं फाइभजी स्मार्टफोन खरिद गर्ने विषयमा सोच्दै हुनुहुन्छ भने सकेसम्म धेरै ब्यान्डको सपोर्ट रहेको स्मार्टफोन नै रोज्नुहोस् ।

यस्ता स्मार्टफोनमा स्पिड समेत राम्रो हुन्छ । वास्तवमा अहिले बजारमा आइरहेका धेरैजसो स्मार्टफोनले नाम मात्रका फाइभजी फोन बिक्री गरिरहेका छन् । वनप्लस तथा रियलमी जस्ता कम्पनीले आफ्ना स्मार्टफोन सिंगल ब्यान्ड फाइभजी सपोर्ट मात्र दिइरहेका छन् ।

 

यसको अर्थ यस्ता स्मार्टफोनले भविष्यमा फाइजीलाई राम्रोसँग सपोर्ट नगर्न सक्छन् । अहिले नेपाल टेलिकमले फोरजी तथा भीओएलटीई सेवा प्रयोग गर्न त्यस्तै किसिमको समस्या उत्पन्न हुने गरेको छ ।

८०० ब्यान्ड सपोर्ट नरहेका स्मार्टफोनमा नेपालको ग्रामीण क्षेत्रमा फोरजी सेवा प्रयोग गर्नै सकिन्न । सहरमा समेत फोरजी तथा भीओएलटीईलाई त्यस्ता फोनले त्यति राम्रोसँग सपोर्ट गर्दैनन् ।

अर्को कुरा एउटा उपयुक्त फाइभजी स्मार्टफोनका लागि त्यसको सफ्टवेयर समेत फाइभजी सपोर्ट गर्ने कसिमको हुनुपर्छ । मिडियाटेक, क्वालकम र सामसङ जस्ता प्रोसेसर निर्माता कम्पनीहरूले फाइभजी कनेक्टिभिटी राम्रोसँग सपोर्ट गर्न सक्छन् ।

यी कम्पनीहरु विशेषगरी फाइभजी स्मार्टफोनका लागि छुट्टै प्रोसेसरको विकासमा जुटिरहेका छन् । यस्तोमा फाइभजी स्मार्टफोन खरिद गर्दाको समयमा आफ्नो स्मार्टफोनमा फाइभजी कनेक्टिभिटी सपोर्ट गर्ने प्रोसेसर छ कि छैन भन्ने कुरा समेत विचार गर्न नभुल्नुहोस् ।

 

सामान्यताः अहिलेको समयमा लो ब्यान्ड, मिड ब्यान्ड र हाई ब्यान्ड गरी फाइभजीका लागि तीन प्रकारका ब्यान्ड रहेका छन् । जसअनुसार ६०० मेगाहर्ज देखि ८५० मेगाहर्जसम्मलाई लो ब्यान्ड मानिन्छ ।

यसमा आधारित फाइभजी नेटवर्कले थुप्रै किलोमिटर दुरीमा काम गर्न सक्छ । तर स्पिड भने ३० देखि २५० एमबीपीएससम्म हुनसक्छ । तर एमएम वेभ भनेर चिनिने हाई ब्यान्डमा सबैभन्दा तीव्र अर्थात एक जीबीपीएस गतिसम्मको स्पिड पाउन सकिन्छ ।

तर यस्तो नेटवर्कको कभरेज एरिया तुलनात्मक रुपमा निकै साँघुरो हुन्छ । यस्तो नेटवर्क बीचमा सिसा हुँदा समेत प्रभावित बन्न सक्छ । त्यसैगरी मिड ब्यान्डलाई सब-सिक्स गिगाहर्ज भन्ने गरिन्छ । यसमा दुई गिगाहर्जदेखि छ गिगाहर्जसम्मको फ्रिक्वेन्सी हुन्छ ।

जसमा ७०० एमबीपीएस गतिसम्मको स्पिड पाउन सकिन्छ । जुन अहिलेको फोरजीभन्दा कयौं गुणा बढी हो । सब-सिक्स गिगाहर्ज ब्यान्डभित्रै एन ७८ फाइभजी ब्यान्ड रहेको हुन्छ । जुन युरोप तथा एसियाली देशहरुमा निकै प्रख्यात छ ।

यसको फ्रिक्वेन्सी ३.३ गिगाहर्जदेखि ३.८ गिगाहर्जको बीचमा हुन्छ । जसलाई सी-ब्यान्ड फाइभजी भनेर समेत चिनिन्छ । यसमा राम्रो स्पिड र फराकिलो नेटवर्क कभरेज दुवै हुन्छ । अधिकांश व्यवसायिक फाइभजी नेटवर्क ३.३ गिगाहर्जदेखि ३.८ गिगाहर्जको बीचमा काम गर्दछन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको अध्ययनबाट ७००, २३००, २६००, ३३००, ३४००, ३६०० र ४७०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी फाइभजीमा प्रयोग गर्न सकिने सम्भावना देखिएको छ । तर रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिबाट कुन कुन ब्यान्डको फ्रिक्वेन्सी फाइभजीमा प्रयोग गर्ने भन्ने विषय भने टुङ्गिन बाँकी छ ।

सरकारले फ्रिक्वेन्सी ब्यान्ड टुङ्गो लगाउनु मात्रै पर्याप्त नहुन सक्छ । किन भने सरकारले फाइभजीका लागि छुट्याएका ब्यान्डहरूमध्ये सेवाप्रदायकले कुन ब्यान्डमा फाइभजी सेवा उपलब्ध गराउँछन्, यकिन भइसकेको छैन ।

https://www.techpana.com/2021/97853/?fbclid=IwAR0qEwa7C4vdm_cfHdjSBayJThLpsSD2p1xfQWWOQ9XgfJU-6UbNylzVwys