गाडीलाई ट्राफिककै इसारा

काठमाडौं : उपत्यकामा गाडी दुर्घटना बढेको छ। यसमा चालकको लापरवाही मुख्य रहेको ट्राफिक प्रहरीको दाबी छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार साउनदेखि मंसिरसम्म ३ हजार ७ सय ५७ दुर्घटना भएका छन्। उक्त अवधिमा १ सय ४ जनाले ज्यान गुमाएका छन्।

साउनमा ७ सय ९६ दुर्घटना भएकोमा भदौमा बढेर ८ सय ९५ पुग्यो। साउनमा २३ र भदौमा १४ जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ। यस्तै, असोजमा ८ सय ८ र कात्तिकमा ६ सय २ वटा दुर्घटना भए। असोजमा २८ र कात्तिकमा १६ जनाले ज्यान गुमाए। मंसिरमा भने कात्तिकको तुलनामा धेरै अर्थात् ६ सय ५६ दुर्घटना भएका थिए। २३ जनाले ज्यान गुमाए।

महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले चालकको लापरबाही सँगै सडक प्रयोगकर्तामा देखिएको असमझदारीले दुर्घटना बढेको बताए। ‘जति प्रयास गर्दा पनि चालक गम्भीर देखिएनन्’, एसएसपी पन्तले भने, ‘अकातर्फ पैदल यात्रुमा सडक अनुशासनबारे असमझदारी देखिएको छ।

पैदल यात्री जेब्राक्रस प्रयोग गर्दैनन्, आकाशे पुलबाट बाटो काट्दैनन्, पेटीबाट हिँड्दैनन्।’ धेरैजसो दुर्घटना बानेश्वर, माइतीघर, तीनकुने, सिनामंगल, कलंकी, गोंगबु, महाराजगन्ज, ललितपुरको सातदोबाटो, भक्तपुरको जगतेमा भएको महाशाखाले जनाएको छ।

उपत्यकामा १ हजार ३ सय ट्राफिक प्रहरी कार्यरत छन्। प्रशासनिक कामबाहेक कार्यक्षेत्रमा ८ सय हाराहारीमा खटिन्छन्। ट्राफिक बत्ती, जेब्राक्रस, आकाशे पुल र सडक लेन अभावमा सवारी साधन ट्राफिककै इसारामा चल्दै आएका छन्। सूचना–प्रविधिले फड्को मारे पनि संघीय राजधानीमा सवारी साधन अझै इसाराकै भरमा चल्दै आएका हुन्।

सडकको तुलनामा सवारी साधन बढेका छन्। गाडी व्यवस्थापन गर्न ट्राफिकलाई हम्महम्मे परेको छ। ‘सडकमा हुनुपर्ने भौतिक पूर्वाधार नभएपछि सवारी व्यवस्थापन त गर्नै पर्‍यो’, महाशाखा प्रमुख पन्तले भने, ‘चालकमा अब त यस्तो बानी पर्‍यो कि ट्राफिक नदेखे चालकले मनपरी ढंगले हाँक्न थाले।

सडकमा पोलजसरी ट्राफिकलाई कति दिन उभ्याएर राख्ने ? ’ थापाथली र बानेश्वरको ट्राफिक लाइट प्रयोगमा आए पनि गाडी चापले ट्राफिकले नै व्यवस्थापन गर्नुपर्ने बाध्यता छ।

 

http://annapurnapost.com/news/117616