काठमाडौं । गएको एक वर्षमा इन्टरनेटमा जोडिने घरपरिवार सङ्ख्याले नयाँ रेकर्ड राखेको छ । विभिन्न इन्टरनेट सेवाप्रदायकले गत वर्षको असारदेखि यताको एक वर्षमा कूल चार लाख ३७ हजार ७३६ ओटा नयाँ घरमा इन्टरनेट सेवा जोड्न सफल भएका छन् ।

 

यससँगै १६ लाख नौ हजार ६९ घरपरिवारमा फिक्स लाइन इन्टरनेट पुगेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यसबाट ५७ लाख १७ हजार २५६ प्रयोगकर्ताले इन्टरनेट प्रयोग गर्न  पाएका छन् ।

पछिल्लो एक वर्षको अवधिमा सबैभन्दा धेरै ग्राहक जोड्ने वर्ल्डलिङ्क र सुबिसु दुवैले एक लाखभन्दा बढी ग्राहक जोडेका छन् । दुई कम्पनीले एक वर्षमै एक लाख भन्दा बढी नयाँ ग्राहक जोडेको यो नै पहिलो पटक हो ।

 

यद्यपि वर्ल्डलिङ्कले भने २०७४ देखि २०४५ बीचको अवधिमा एक लाखभन्दा बढी नयाँ कनेक्सन जोडेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) अनुसार गत वर्षको असारदेखि २०७८ जेठसम्म वर्ल्डलिङ्कले एक लाख नौ हजार ३०६ ओटा घरमा इन्टरनेट जडान गरेका छन् ।

 

यस्तै दोस्रो धेरै ग्राहक बनाउन सफल सुबिसुले एक लाख ६ हजार ४१४ ओटा नयाँ कनेक्सन बनाएको छ । यस अवधिमा धेरै ग्राहक बनाउने इन्टरनेट सेवाप्रदायक कम्पनीमा वेबसर्फर छ ।

 

जसले ५५ हजार ३७८ नयाँ कनेक्सन तयार पारेको छ भने चौथोमा रहेको क्लासिक टेकले ४५ हजार २५३ नयाँ ग्राहक बनाउन सफल देखिएको छ । यसैगरी पछिल्लो एक वर्षमा धेरै ग्राहक बनाउने सेवाप्रदायकको सूची अन्तर्गत पाँचौं नम्बरमा नेपाल टेलिकम रहेको छ ।

जसले ४४ हजार ३८ ओटा घरमा इन्टरनेट जोडेको छ । त्यसपछि इन्टरनेटका नयाँ ग्राहकको रुपमा क्रमशः भायनेटमा ३६ हजार ६२२ र टेकमाइन्ड्समा १९ हजार ४१५ घरपरिवार जोडिएका छन् ।

सेवाप्रदायक ०७७ असार ०७८ जेठ नयाँ ग्राहक
वर्ल्डलिङ्क ३,७५,८३३ ४,८५,१३९ १,०९,३०६
नेपाल टेलिकम २,४९,५९६ २,९३,६३४ ४४,०३८
सुबिसु १,०४,०९९ २,१०,५१३ १,०६,४१४
क्लासिक टेक १,०५,५०७ १,५०,७६० ४५,२५३
भायनेट १,११,०७० १,४७,६९२ ३६,६२२
वेबसर्फर १८,६६४ ७४,०४२ ५५,३७८
टेकमाइन्ड्स ४२,९०६ ६२,३२३ १९,४१५
ब्रोडलिङ्क ६०,७५४ ४६,२१८ -१४,५३६
अन्य १,०२,९०२ १,३८,७४८ ३५,८४६

 

https://www.techpana.com/2021/98418/?fbclid=IwAR1Xoikn8VPHXyQB1J3gCSWccLUVq_Yb6rp0XXU0iuTJKB-liOQfmWoDl5Y