काठमाडौं । खाबी लेमका हरेक टिकटक भिडियोमा लाखौंको भ्युज आउँछ । तर उनका कुनै पनि भिडिओमा उनी मुखले बोल्दैनन् ।

 

अफ्रिकी देश सेनेगलमा जन्मिएर हाल इटालीमा बस्ने यी २१ वर्षीय युवाको सफलताको रहस्य नै यही हो । उनी प्राय टिकटकका भाइरल र मुर्ख बनाउने भिडिओहरुमा रियाक्ट गर्दै आफ्नो भिडिओ तयार पार्छन् । रियाक्सनमा उनले कुनै शब्द भने निकाल्दैनन् ।

उनको अनुहारको भाव नै पर्याप्त छ । अर्थात् उनी सबै भाषीले बुझ्ने गरी अनुहारको हाउभाउ देखाउँछन् । भिडिओका क्याप्सन भने अंग्रेजीमा लेख्छन् ।

 

यो समाचार तयार पार्दासम्म यी टिकटक स्टारका संसारभरबाट १० करोड पाँच लाखभन्दा धेरै फलोअर छन्, र उनले आफ्ना भिडिओहरुमा कुल साढे एक अर्बभन्दा बढी लाइक पाएका छन् । उनी फलाेअर धेरै हुनेमध्ये शीर्ष दुईमा पुगिसकेका छन् ।

 

धेरैले लेमले अमेरिकी नृत्याङ्गना डी’अमेलियोलाई पनि उछिन्न सक्ने अनुमान गरेका छन् । गत ३० दिनमा लेमका फलोअर दुई करोड १९ लाखले बढेको सोशल ब्लेड नामक वेबसाइटले जनाएको छ । जबकि याे अवधिमा डी’अमेलियोका फलोअर २६ लाख मात्रै बढे । 

कोरोना महामारी सुरु हुनुअघि उनी एउटा कारखानामा काम गर्थे । कोभिड महामारीका कारण जागिर गुमाएपछि उनले मार्च २०२० मा टिकटक चलाउन सुरु गरेका थिए ।

उनी रमाइला भिडिओहरू बनाएर अन्य मानिसले कसरी सहजै हुने कुरालाई बिनाकारण जटिल बनाएका छन् भनेर देखाउँछन् । तर भिडिओमा उनी बोल्दैनन् ।

‘यो मेरो अनुहार र मेरो अभिव्यक्ति हो, जसले मानिसहरुलाई हँसाउँछ,’ उनी भन्छन् ।

-एजेन्सीको सहयोगमा ।