गठबन्धनको सरकार बनेसँगै लुम्बिनी प्रदेश सरकारको पहिलो बैठक बिहीबार बसेको थियो । पहिलो बैठकमा प्रदेश सरकारले दीर्घ रोगी जस्तै, क्यान्सर, मिर्गौला र मुटु रोगी बिरामीहरूलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

माओवादी केन्द्रका नेता तथा गठबन्धनका प्रमुख कुल प्रसाद केसीको  नेतृत्वमा गठित नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश भित्र रहेका क्यान्सर, मिर्गौला र मुटु रोगी बिरामीहरूलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको नव गठित सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जनाएका छन् ।

साथै, सो बैठकले कोरोना हटलाइन एम्बुलेन्स सञ्चालन गर्ने तथा कोरोनाको एन्टिजन परीक्षणको लागि घुम्ती शिविर सञ्चालन गर्ने समेत निर्णय गरेको जनाइएको छ । यस्तै, कोरोना प्रतिरोधात्मक खोपलाई पनि प्रभावकारी बनाउने योजना अगाडी सरेको छ ।