काठमाडौं । पोली नेटवर्कमा रहेको कमजोरी पत्ता लगाई क्रिप्टो चोरी गरेर पनि चोरीको पैसा फिर्ता गर्ने ह्याकरलाई कम्पनीले पाँच लाख अमेरिकी डलर अर्थात पाँच करोड ९४ लाख रुपैयाँ बग बाउन्टी दिने घोषणा गरेको छ ।

 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो कमजोरी पत्ता लगाएको ह्याकरलाई बग बाउन्टी दिने घोषणा गरेको हो ।

गत हप्ता मात्रै ती ह्याकरले पोली नेटवर्कको सिस्टमको कमजोरी पत्ता लगाएर ६१ करोड अमेरिकी डलर अर्थात ७२ अर्ब ४७ करोडभन्दा धेरै रकम चोरी गरेका थिए ।

 

तर आफ्नो मनाशय कम्पनीको कमजोरी पत्ता लगाउनु मात्र भएको भन्दै ह्याकरले शुक्रबारसम्म पोली नेटवर्कको ३४ करोड अमेरिकी डलर अर्थात ४० अर्ब ३९ करोड फिर्ता गरिसकेका छन् ।

 

पोली नेटवर्कले ह्याकरलाई कुन माध्यमबाट बग बाउन्टीको रकम फिर्ता गर्छ भन्ने कुरा भने विज्ञप्तिमा उल्लेख गरेको छैन । विज्ञप्तिका अनुसार ह्याकरले बग बाउन्टीको विषयमा आफ्नो प्रतिक्रिया दिए पनि बाउन्टीको रकम लिने वा नलिने भने बताएका छैनन् ।

 

विभिन्न ब्लकचेनहरुलाई जोड्ने प्लेटफर्मको रुपमा रहेको पोली नेटवर्कको फरक फरक ब्लकचेनमा क्रिप्टोकरेन्सी ट्रान्सफर गर्ने प्रणालीमा रहेको कमजोरीको फाइदा उठाउदै अज्ञात ह्याकरले पैसा चोरी गरेको थियो ।

रोयटर्सको रिपोर्ट अनुसार अहिलेसम्म त्यो एक जना मात्र ह्याकर हो वा ह्याकरहरूको कुनै समूह भन्ने विषयमा केही पत्ता नलागेको जनाएको छ ।

विभिन्न ब्लकचेनहरुलाई जोड्ने प्लेटफर्मको रुपमा रहेको पोली नेटवर्कले मंगलबार एक ट्वीट गर्दै ह्याकिङको विषयमा जानकारी दिएको थियो । कम्पनीको उक्त ट्वीट पश्चात ह्याकरले आफू पैसाको लागि महत्वकांक्षी नभएको भन्दै पैसा फिर्ता गर्ने बताएका थिए ।

https://www.techpana.com/2021/98854