काठमाडाैं ।  फेसबुकले तालिबान र त्यस समर्थित सबै सामग्रीमाथि प्रतिबन्ध लगाएको छ । तालिबानलाई आतङ्कवादी संस्थाको रुपमा सूचीकृत गर्दै फेसबुकले यस्तो कदम चालेको हो ।

 

यससँगै तालिबानसँग सम्बन्धित सामग्री पहिचान गर्न र हटाउन फेसबुकले विज्ञहरूको समूह समेत बनाएको उल्लेख छ ।

 

तालिबानले वर्षौंदेखि सामाजिक सञ्जालमार्फत आफ्ना सामग्री प्रवाह गर्दै आइरहेको छ । तालिबानले अनपेक्षित गतिमा अफगानिस्तानलाई नियन्त्रण लिएपछि सामाजिक सञ्जाल कम्पनीहरू त्यस समर्थित सामग्रीलाई कस्तो व्यवहार गर्ने भन्नेमा दुविधामा रहेका छन् ।

 

अमेरिकी कानूनले तालिबानलाई आतङ्ककारी समूह करार गरेको छ । त्यसैलाई आधार मान्दै फेसबुकले उक्त समूहलाई आफ्नो सेवा प्रयोग गर्न प्रतिबन्ध लगाएको हो ।

 

यसको अर्थ तालिबान वा तालिबानका लागि बनाइएका फेसबुक अकाउन्टहरू बन्द गरिनेछन् । साथै उनीहरूको प्रशंसा, समर्थन वा प्रतिनिधित्व गर्ने सामग्री समेत हटाइने फेसबुकले जनाएको छ ।

 

‘हामीसँग पाश्तो र दारी मातृभाषा भएका तथा अफगानिस्तानको स्थानीय विषय बुझेका विशेषज्ञहरूको एउटा समूह छ, जसले त्यस्ता सामग्री पहिचान गरेर हामीलाई जानकारी गराउनेछन्,’ बीबीसीसँग उनले भनेका छन् ।

फेसबुकले यो नीति आफ्ना अन्य सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राम र ह्वाट्सएपमा समेत लागू हुने जनाएको छ । तालिबानले सन्देश आदानप्रदानका लागि ह्वाट्सएप प्रयोग गरिरहेको जानकारी समेत आएको फेसबुकको भनाइ छ ।

कम्पनीका अनुसार ह्याट्सएपमा तालिबानसँग सम्बन्धित अकाउन्ट रहेको जानकारी आएमा हटाइनेछ ।

 

फेसबुकले यस किसिमको नीति अख्तियार गरेसँगै सामाजिक सञ्जाल कम्पनीहरूमाथि पनि तालिबान सम्बन्धी सामग्रीमाथि प्रतिबन्ध लगाउन दबाब परेको छ ।

तालिबानका प्रवक्ताले ट्वीटरमार्फत् आफ्नो समूहको गतिविधिको बारेमा जानकारी गराउँदै आएका छन् ।

ट्विटरका प्रवक्ताले हिंसात्मक संस्था र घृणायुक्त व्यवहारप्रति कम्पनीको असहिष्णुताको नीति रहेको बताएका छन् ।

यसको अर्थ ट्वीटरले समेत आतङ्कवाद र नागरिक विरुद्ध हिंसा प्रवर्द्धन गर्ने सामग्री राख्न अनुमति दिँदैन ।

 

युट्युवले भने तालिबानसम्बन्धी सामग्रीको बारेमा बीबीसीको प्रश्नको उत्तर दिएको छैन ।

-बीबीसीकाे सहयाेगमा 

https://www.techpana.com/2021/99263/