काठमाडौं । मास्टरकार्डले म्याग्नेटिक स्ट्राइप (कार्डको पछाडि भागमा रहेको कालो लाइन) हटाउने भएको छ । हाल मास्टरकार्डले उपलब्ध गराउने कार्डको पछाडि चुम्बकीय स्ट्राइप रहेको हुन्छ । तर, अब भने कम्पनीले उक्त स्ट्राइप हटाउने भएको हो ।

 

कम्पनीका अनुसार सन् २०३३ सम्ममा पूर्णरुपमा त्यस्ता कार्ड विस्थापित भइसक्ने छन् । यसको अर्थ अब हामीले प्रयोग गर्ने मास्टरकार्डका डेबिट तथा क्रेडिट कार्डमा म्याग्नेटिक स्ट्राइप हुने छैन । कम्पनीका अनुसार युरोप लगायतका विभिन्न बैंकमा भने २०२४ बाटै त्यस्ता कार्ड बन्द हुनेछ ।

हुन त सन् २००६ बाटै युरोपमा रकम कारोबार गर्दा प्रयोग हुने कार्ड चिप-एण्ड-पिनमा आधारित भइसकेको छ । तर, अमेरिकामा अझैसम्म पनि म्याग्नेटिक स्ट्राइप भएका कार्डहरू प्रयोगमा छन् । २०२७ बाट अमेरिकन ग्राहकहरूले पनि म्याग्नेटिक स्ट्राइप बिनाको कार्ड प्रयोग गर्न पाउनेछन् भने २०३३ बाट भने म्याग्नेटिक स्ट्राइप युक्त कार्ड पूर्णरुपमा बन्द हुनेछ ।

 

म्याग्नेटिक स्ट्राइपको तुलनामा चिप-एन्ड-पिन र नँया बायोमेट्रिक कार्डहरू धेरै सुरक्षित हुने भएकाले पनि कम्पनीले यो कदम चालेको हो । यो हिसाबले पूर्ण रुपमा चिप-एन्ड-पिन र नयाँ बायोमेट्रिकमा आधारित कार्डमा जाने मास्टरकार्ड नै पहिलो भुक्तानी नेटवर्क हुने दाबी गरिएको छ ।

 

कार्डहरूबाट म्याग्नेटिक स्ट्राइप हटाउने र चिप एण्ड पिनको प्रयोगका लागि यो समय उपयुक्त रहेको साथै विश्वले यो प्रविधिको खुलेर स्वागत गर्ने कम्पनीका प्रवक्ताले बताएका छन् ।

 
स्ट्राइप-आइडेन्टिटी कार्ड

म्याग्नेटिक स्ट्राइप कार्डको प्रयोग १९६० बाट सुरु भएको हो, जसलाई ‘सीआईए’ का कर्मचारीको परिचयपत्र बनाउन आईबीएम प्रोजेक्टले प्रयोगमा ल्याएको थियो ।

फरेस्ट पेरि (एक इन्जीनियर) का अनुसार, प्लास्टिकको कार्डमा चुम्बकीय टेपको सहायतामा इन्कोडेड जानकारीहरू राख्न उद्देश्यले यसको प्रयोग भएको हो । त्यसबेला दुवैलाई एकैसाथ सामेल गराएर कार्ड तयार गर्न निक्कै संघर्ष गर्नुपरेको थियो ।

उनकी श्रीमतीले कार्डमा चुम्बक छाप्नको लागि तापको प्रयोग फलामसँग गरेकी थिइन । महामारीको समयमा पनि विभिन्न माध्यमबाट भुक्तानी गर्न सम्भव हुनुको पछाडि पेरिको उक्त आविष्कार एक ऐतिहासिक साबित भएको छ ।

 

अघिल्लो वर्षको तुलनामा २०२१ को पहिलो त्रैमासिकमा सम्पर्करहित भुक्तानीका लागि स्मार्टफोन र कार्डको प्रयोग झन्डै एक अर्बले बढेको छ । बायोमेट्रिक भुक्तानी प्रणालीमा हत्केला स्क्यान गरेर अनुहार पहिचान गरी भुक्तानी गर्ने कामको परिक्षण जारी रहेको छ । 

https://www.techpana.com/2021/99342