काठमाडौं । विश्व चर्चित स्पेनिस ला लिगा फुटबलकाे नयाँ संस्करण गत सातबाट सुरु भएको छ । यसअघिसम्म फेसबुक वाचमा लाइभ हेर्दै आएका हामी धेरैले यो पटक पनि त्यसरी नै लाइभ हेर्ने प्रयास गरेको हुनुपर्छ । तर, त्यो सम्भव भने भएन होला । किनभने अब ला लिगा फुटबलका कुनै पनि खेल फेसबुकमा लाइभ हेर्न नपाइने भएको छ ।

 

यसअघिसम्म फेसबुकको ‘फेसबुक वाच’ मा लाइभ उपलब्ध हुने गरेको भएता पनि अब भने ला लिगामा हुने खेलको प्रसारण डिशहोमबाट मात्रै हुने भएको छ ।

फेसबुकले २०७५ साल साउनमा तीन वर्षका लागि भारतीय उपमहाद्वीप क्षेत्रका देशहरूमा ला लिगाका खेल प्रत्यक्ष प्रसारणको अधिकार लिएको थियो ।

 

त्यसअघि नेपालसहित, भारत, बंगलादेश, भुटान, अफगानिस्तान, माल्दिभ्स, श्रीलंका र पाकिस्तानमा ला लिगा सोनी पिक्चर्स नेटवर्कमार्फत प्रत्यक्ष प्रसारण हुँदै आएको थियो । जब फेसबुकले प्रत्यक्ष प्रसारणको अधिकार लियो, त्योसँगै विगत तीन वर्षदेखि ला लिगाका खेल फेसबुकबाट मात्रै प्रसारण हुँदै आएको हो ।

 

तर, अब फेरी नेपाली खेलप्रेमीले ला लिगा हेर्नका लागि टिभी नै खोल्नुपर्ने भएको छ, त्यो पनि डिशहोममा ।

 

‘हामीले नेपालमा ला लिगाका खेल प्रत्यक्ष प्रसारणका लागि ला लिगासँग सम्झौता गरेका छौं,’ कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले भने, ‘त्यो हुँदा यसअघि फेसबुकमा आउने प्रत्यक्ष प्रसारण बन्द भएको छ ।’

कम्पनीका अनुसार अब ला लिगाका खेल डिशहोमको ‘एक्सन स्पोर्ट्स एचडी २’ मा प्रसारण हुनेछ । त्यसका लागि डिशहोमका ग्राहकहरूले दुई हजार रुपैयाँको सिजन टिकट खरिद गरि एक्सन स्पोर्ट्स एचडी २ मा लिग अवधिभरका लागि हर्ने सक्नेछन् ।

डिशहोमका मल्टि टिभीका ग्राहकहरूले अतिरिक्त सेट–टप बक्समा पनि एक्सन स्पोर्ट्स एचडी २ हेर्नका लागि थप दुई हजार रुपैयाँको सिजन टिकट खरिद गर्नुपर्ने छ । यसरी खरिद गरिएको प्याकेज डिशहोम गो एपमा समेत हेर्न सकिने कम्पनीले जनाएको छ ।

 

यसो गर्दा डिशहोमका ग्राहकले मात्र हेर्न पाउने अवस्था हुन्छ । तर कम्पनीले डिशहोम बाहेकका ग्राहकलाई पनि समेट्ने तयारी गरिरहेको जनाएको छ ।

कम्पनीका अनुसार डिशहोम बाहेकका ग्राहकलाई समेत लक्षित गरेर सेवा दिने गरी सिस्टम तयारी भइरहेको छ । 

https://www.techpana.com/2021/99480/