काठमाडौं । ताजा र हाइजेनिक मासु डेलिभरीका लागि अनलाइन प्लेटफर्म मासु’ सार्वजनिक भएकाे छ । ‘मासु’ बाट सेवा लिन मोबाइल एप्लिकेशन वा वेब ब्राउजरबाट अर्डर गर्न सकिने छ ।

 

मासुको हाइजिन कायम राख्नका लागि तथा बाह्य संक्रमणबाट जोगाउनको लागि भ्याकुम प्याकिंगगरी शुन्यदेखि चार डिग्रीसम्म तापक्रम कायम गरी तयार र डेलिभरी गर्ने योजनासहित ‘मासु’ एप सुरू गरिएको हाे ।

यो एपलाई दुई युवा विकास गिरी र विशाल रथ गिरीले सञ्चालनमा ल्याएका हुन् ।

 

‘हामीले ताजा र हाइजेनिक मासु समयमै उपलब्ध गराउँछौं, जुन कहिल्यै फ्रोजन भएको हुनेछैन । मासुलाई उपयुक्त तापक्रममा तयार तथा स्टोर नगर्ने हो भने ३० मिनेटभित्र मासुमा अत्याधिक ब्याक्टेरिया वृद्दि हुन्छ, जुन हाम्रो स्वास्थ्यको लागि घातक हुन सक्छ’, सञ्चालक विकास गिरीले भने ।

 

गिरीका अनुसार बेच्ने मासु ग्राहकको हातसम्म पुग्दा विभिन्न १२ प्रकारका गुणस्तर जाँच पास हुनेछ ।

 

मासु अर्डर गर्न एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट एप डाउनलोड गर्न सक्नेछन् भने आईओएस प्रयोगकर्ताको लागि छिट्टै एप स्टोरमा उपलब्ध हुने बताइएकाे छ ।

त्यस्तै वेब ब्राउजरमार्फत पनि अर्डर गर्न सकिनेछ ।

प्रारम्भिक चरणमा काठमाडाैं उपत्यकामा १२० मिनेटभित्र निःशुल्क डेलिभर हुने गरी तयारी गरिएको गिरीले बताए ।

 

यो सेवा विस्तारै देशैभर विस्तार गर्ने याेजना कम्पनीकाे छ । ‘मासु’ एपबाट खसीको मासु रु. १०५० देखि किन्न पाइने छ । बुधवारदेखि प्रि-अर्डर सुरु गरिने तथा साउन ३० गतेदेखि डेलिभरी सेवा सुरू गरिने जानकारी अर्का सञ्चालक विशाल रथ गिरीले दिए ।

 

 

Source - https://www.techpana.com/2021/98388/