काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आज भारतीय बजारमा आफ्नो फ्ल्यागशिप फोन ‘रियलमी जीटी फाइभजी’ सार्वजनिक गरेको छ । क्वालकम स्न्यापड्रागन ८८८ अन्तर्गत सञ्चालित यस फोनले प्रयाेगकर्तालाई उच्च गुणस्तरीय अनुभूति प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

 

याे फाेनमा १२० हर्जकाे रिफ्रेस रेटसहित ६.४३ इन्चकाे सामसङ सुपर एमोलेड डिस्प्ले छ । त्यस्तै फाेनमा सोनी ६४ एमपी ट्रिपल क्यामेरा जडान छ, जसमा नयाँ नाइट पोर्ट्रेट मोड र एआई क्षमता रहेकाले व्यवसायिक फोटो खिच्न सकिने जनाइएकाे छ ।

 

१८६ ग्रामभन्दा कम ताैल र अधिक पातलो डिजाइनका बाबजुद यसमा ४५०० एमएएच ब्याट्री र ६५ वाटकाे सुपरडर्ट चार्जिङ सपोर्ट रहेको छ, जसले फोनलाई केवल ३५ मिनेटमा पूर्ण चार्ज गर्न सहयोग गर्छ ।

 

एन्ड्रोइड ११ मा आधारित रियलमी यूआई २.० मा यो फोन चल्दछ । ८ जीबी र १२ जीबी र्‍याम भेरियन्टमा उपलब्ध फाेनमा डाइनामिक र्‍याम एक्सटेन्सनअन्तर्गत ७ जीबी भर्चुअल र्‍याम बढाउन सकिने सुविधा छ ।

 

मूल्यकाे कुरा गर्दा ८ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टकाे ३७ हजार ९९९ भारू ताेकिएकाे छ । त्यस्तै १२ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टकाे ४१ हजार ९९९ भारू ताेकिएकाे छ ।

 

Source - Source