काठमाडौं । लोकप्रिय स्मार्टफोन निर्माता कम्पनी साओमीले आवाजबाट नियन्त्रण गर्न सकिने नयाँ फास्ट चार्जिङ प्रविधिमा काम गरेको छ । यसका लागि कम्पनीले गत महिना नै चाइना नेसनल इन्टेलेक्चुअल प्रोपर्टी एड्मिनिस्ट्रेसन (सीएनआईपीए) मा आफ्नो साउन्ड चार्जिङ प्रविधिका लागि पेटेन्ट दर्ता गराएको छ ।

 

साओमीले यसअघि नै हाइपर चार्ज प्रविधि बजारमा ल्याइसकेको छ । जसमा प्रयोगकर्ताले २०० वाट वायर्ड फास्टचार्जिङको सपोर्ट प्राप्त गर्न सक्छन् ।

साओमी नयाँ नयाँ प्रविधिको मामिलामा अन्य स्मार्टफोन निर्माता कम्पनीभन्दा निकै अगाडि छ । यसैक्रममा कम्पनीले वाई-फाई जस्तै चार्जिङ प्रविधि बनाइरहेको छ । जसमा तपाईंले एकसाथ थुप्रै डिभाइस चार्ज गर्न सक्नुहुनेछ ।

 

तर साओमी त्यसबाट एक कदम अगाडि बढेर साउन्ड चार्जिङ प्रविधि समेत ल्याउन अग्रसर भएको हो । यसमा प्रयोगकर्ताले अह्राएकै भरमा मोबाइल चार्ज हुन थाल्नेछ । आउँदो नयाँ वर्षमा साओमीले यो प्रविधि बजारमा ल्याउने बताइएको छ ।

 

साओमीको साउन्ड चार्जिङ प्रविधिको पेटेन्ट अनुसार यो इलेक्ट्रोनिक उपकरणले मेकानिकल भाइब्रेसनलाई अल्टरनेटिङ करेन्ट (एसी) मा परिवर्तन गरिदिन्छ । त्यसपछि कारण पावर कन्भर्जन उपकरणको सहयोगमा यसलाई डीसीमा बदल्न सकिन्छ ।

 

साओमीको अपकमिङ साउन्ड चार्जिङ प्रविधिमा स्मार्टफोनलाई पावर सर्किटमा नलगाएरै चार्ज गर्न सकिनेछ । यो निकै आधुनिक किसिमको चार्जिङ प्रविधि हुनेछ । यद्यपि आगामी दिनमा साओमीले यो प्रविधिलाई कत्तिको वास्तविक रुप दिन सक्छ, त्यो भने हेर्न बाँकी नै छ ।