काठमाडौं । आफ्नो देशमा उत्पादन भएको स्मार्टफोन यूएईमा निर्यात गर्दै पाकिस्तान पहिलो पटक स्मार्टफोन निर्यात गर्ने देश बनेको छ । इनोभी टेलिकमले शुक्रबार पाकिस्तानमा निर्माण भएको ५५ सय फोरजी स्मार्टफोन युएईमा निर्यात गरेको हो ।

 

हुन त स्थानीय स्मार्टफोन निर्माता कम्पनीले मोबाइल फोन उत्पादन तथा निर्यात गरी मध्यपूर्वी क्षेत्रमा प्रतिस्पर्धा गर्न सहयोगी नीति माग गर्दै आएका छन् । नीति तयार नभइसकेकाे अवस्थामा पनि कम्पनीले स्मार्टफोन उत्पादन गरी निर्यात गर्न सफल भएकाे हाे ।

 

पाकिस्तानको दूरसञ्चार नियामक निकायले शनिबारमात्रै कम्पनीले हासिल गरेको उक्त उपलब्धिका लागि बधाइ दिएको छ । ‘यो सङ्गठित प्रयासको प्रतिफल हो,’ नियामकले जारी गरेको सन्देशमा भनिएको छ,‘ आशा छ आगामी दिनमा मोबाइल निर्यात अझ बढ्दै जानेछ ।’

 

इनोभी टेलिकमले गएको अप्रिलमा मात्रै मोबाइल उत्पादनका लागि अनुमति पाएको थियो । अनुमति पाएको चार महिनाको अवधिमा कम्पनीले आएको अर्डर तयार पारी निर्यात गर्न समेत सफल भएको हाे ।

 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत जिशान माइन नुरका अनुसार कम्पनीको योजना ‘लो–इन्ड’ को स्मार्टफोन हो । ‘इराक, इरान, अफगानिस्तानका साथै मध्यपूर्वी क्षेत्र हाम्रा लागि राम्रो बजार हुनेछ,’ उनले भने ।

 

-एजेन्सी

https://www.techpana.com/2021/99066/