काठमाडौं । गत वर्ष जुमले वर्क फर्म होमलाई लक्षित गर्दै ‘जुम फर होम’ सेवा सार्वजनिक गरेको थियो । त्यसपश्चात जुमले विभिन्न हार्डवेयर कम्पनीहरूसँग मिलेर यो सेवालाई थप राम्रो बनाउन काम गर्दै आएको छ ।

 

हाल धेरैजसो संस्थाले कोरोना महामारीको कारण भौतिक र भर्चुअल दुवै तरिकाबाट काम गरिरहेका छन् । घरमा बसेर काम गरिरहेकाले पनि भौतिक रुपमा काम गरिरहेकाको जस्तै पूर्वाधार प्रयोग गर्नुपर्ने बाध्यता छ ।

यद्यपि सबैसँग पूर्वाधार नहुन पनि सक्छ । यही कुरालाई मध्यनजर गर्दै जुमले ‘जुम फर होम’ सेवा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो सेवा हाल फायर टिभी क्युब, डिटेन मेट सहितको डिटेन गो र पोर्टल टिभीमा उपलब्ध छ ।

 

घरमा बसेर ल्यापटप वा डेस्कटपमा काम गर्दा संकुचित हुने र केही थकान महसुस हुन सक्छ । त्यसैले जुमले यसको भिडियो कन्फरेन्सिङ सफ्टवेयरलाई केही उत्कृष्ट टिभीहरुमा जोड्नको लागि आफ्नो हार्डवेयर पार्टनरहरूसँग सहकार्य गरिरहेको छ ।

 

कम्पनीका अनुसार फायर टिभी क्युबमा जुम डाउनलोड गरेर वेब क्यामेरासहित जुम मिटिङमा सहभागी हुन सकिन्छ ।

 

त्यस्तै डिटेन अल-इन-वान प्रडक्ट भएका कारण यसमा जुम मिटिङको छुट्टै वेब क्यामेरा राख्न पर्दैन । यसमा चार वटा क्यामेरा, १२ वटा माइक्रोफोन र १६० डिग्री कभरेज हुने हुदाँ प्रयोगकर्ताले सजिलै आफ्नै लिभिङ रुममा बसेर जुममार्फत काम गर्न सक्छन् । सो डिभाइसलाई डिटेन मेट ट्याब्लेटमा कनेक्ट गरेर पनि जुम मिटिङमा सहभागी हुन सकिन्छ ।

त्यस्तै हिँड्दै बोल्न मन पराउनेका लागि भने पोर्टल टिभी उपयोगी हुने कम्पनीको भनाइ छ । यो टिभीले जुमलाई सपोर्टको गर्नुको साथै यसमा भएको स्मार्ट क्यामेराले प्रयोगकर्ताको मुभमेन्ट जता भयो, त्यतै क्यामेरा स्विच गर्ने र प्रयोगकर्तालाई क्यामेराको फ्रेमभित्र रहन मद्दत गर्छ ।

यो टिभीले भने जुम मिटिङ भइरहेको बेला स्क्रिन शेयरिङ तथा भर्चुअल ब्याकग्राउन्ड राख्न मिल्ने सुविधा पनि दिएको छ । 

https://www.techpana.com/2021/99779