काठमाडौं । गुगलले हालै पिक्सेल फाइभ ए (Pixel 5A) फाइभजी स्मार्टफोन आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।

 

गुगलको पिक्सेल फोर ए (Pixel 4A) को तुलनामा यो फोनमा केही नयाँ अपडेटहरू पाउन सकिन्छ । जस्तो कि अलिकति ठूलो स्क्रिन, धेरै क्षमताकाे ब्याट्री, आईपी ६७ रेटिङ सहितको वाटर रेसिस्टेन्ट फिचर आदि ।

यति मात्र होइन, यसको मूल्य पनि ‘फाेर ए’ को भन्दा कम छ । अमेरिकामा यो फोनको मूल्य ४४९ अमेरिकी डलर अर्थात ५३ हजार ४११ रुपैयाँ रहेको छ, जुन ‘फाेर ए’ भन्दा ५० अमेरिकी डलर अर्थात् करिब ६ हजार रुपैयाँले कम हाे ।

 

यो फोन पहिलाे चरणमा अमेरिका र जापानमा अगस्ट २६ देखि उपलब्ध हुनेछ ।

 

यसअघिको पिक्सेल ‘फोर ए’ मा ३,८८५ एमएएचको ब्याट्री थियो, ‘फाइभ ए’ मा ४६८० एमएएचकाे ब्याट्री दिइएको छ । कम्पनीका अनुसार एक पटक चार्ज गरेपछि ‘एक्स्ट्रिम ब्याट्री सेभर मोड’ मा फोन चलाउँदा सामान्यतः दुई दिनसम्म ब्याट्री टिक्नेछ ।

 

यो फोनमा ६० हर्ज रिफ्रेस रेट सहितको ६.३४ इन्च डिस्प्ले छ ।

पिक्सेलको ‘ए’ सिरिज अन्तर्गतको फोनमा वाटर रेसिस्टेन्स रेटिङ पाउने ‘फाइभ ए’ पहिलो फोन हो, जुन तीन फिटसम्मको गहिराइ भएको पानीमा ३० मिनेटसम्म रहन सक्ने कम्पनीले बताएको छ ।

यी लगायत अन्य फिचरहरू भने यो फोनको लगभग ‘फाेर ए’ जस्तै छ । स्न्यापड्रागन ७६५जी चिपसेट भएको यो फोनमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज छ ।

 

यसमा १२.२ मेगापिक्सेलको मेन क्यामेरासहित १६ मेगापिक्सेलको अल्ट्रावाइड रियर क्यामेरा र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ ।

यससँगै फोनमा बायोमेट्रिक अनलकका लागि रियर फिङ्गरप्रिन्ट स्क्यानर, अनेस्ट टु गड हेडफोन ज्याक र १८ वाटको चार्जर पनि छ ।

एन्ड्रोइड ११ मा आधारित यो फोन तीन वर्षसम्म अपग्रेड गर्न सकिन्छ ।

सुन्दा त्यति फ्यान्सी नसुने पनि यो फोन ‘फाेर ए’ जस्तो तत्कालका लागि सहजै उपलब्ध भने हुने छैन । कम्पनीका अनुसार यो फोन गुगल स्टोरबाट मात्र बिक्री गरिने छ । यसको अर्थ नेपाली बजारमा कुनै आधिकारिक बिक्रेताबाट यो फोन भित्रिने छैन ।

https://www.techpana.com/2021/99795/