काठमाडौं । कोरोना महामारीका कारण भौतिक रुपमा नियमित कक्षा सञ्चालन नहुँदा विकल्पको रुपमा अनलाइन कक्षाहरू सञ्चालन गर्नुपर्ने बाध्यता छ । तर ग्रामीण भेगका विद्यालय नै इन्टरनेट पहुँच बाहिर हुँदा यस किसिमको कक्षा सञ्चालन चुनौतिपूर्ण देखिएको छ ।

 

सरकारले समेत कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै विद्यालयहरूलाई वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न भनेको छ । तर वैकल्पिक रुपमा कक्षा सञ्चालन चुनौतिपूर्ण हुँदा सल्यानका ६० हजार भन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको समाचार गोरखापत्रमा छ ।

सल्यानमा ४४३ प्राथमिक, ८९ माध्यमिक र ५१ ओटा संस्थागत विद्यालय छन् । त्यसमध्ये १६ ओटा माध्यमिक विद्यालय इन्टरनेट पहुँच बाहिर छन् ।

 

जसका कारण वैकल्पिक शिक्षामार्फत् सिकाइलाई निरन्तरता दिने सरकारी योजना कार्यान्वयन चुनौतिपूर्ण बनेको हो । नयाँ शैक्षिक सत्र सञ्चालन भएको तीन महिना पुगिसक्दा समेत सल्यानमा न त विद्यालय सञ्चालन हु नसकेका छन् न त वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन नै भएका छन् ।

 

ग्रामीण भेगका अधिकांश बालबालिका भने घरायसी काममा व्यस्त हुने गरेका छन् । सिद्धकुमाख गाउँपालिका  १ कि अभिभावक राजकुमारी बस्नेतले गाउँमा इन्टरनेट र फोनको सुविधा नहुँदा ग्रामीण भेगका बालबालिका यतिबेला पठनपाठनमा भन्दा घरायसी कामकाज र मजदुरीमा व्यस्त भएको बताउँछिन्  ।

 

दार्मा गाउँपालिका फारुलाचौरमा रहेको जनज्योति माविले वैकल्पिक माध्यमबाट पढाउन सहज नभएको जनाएको छ । विद्यालयका प्रधानाध्यापक मीन बहादुर वलीले गाउँपालिका केन्द्रमा फोनले समेत राम्रोसँग काम नगर्ने अवस्था रहेको बताए ।

उनका अनुसार वैकल्पिक माध्यमबाट पढाउन समस्या भएको छ । ‘इन्टरनेट मात्र होइन मोबाइल फोनले समेत काम गर्दैन,’ उनले भने । ग्रामीण भेगमा मात्र होइन, सदरमुकाममा रहेको शारदा नगरपालिकाका केही विद्यालयले समेत वैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गर्न असमर्थ छन् ।

सदरमुकाम खलङ्गा शीतलपाटीमा रहेको शिवजन माध्यमिक विद्यालय र लुहापिङमा रहेको त्रिभुवन माध्यमिक विद्यालयले अनलाइन कक्षा त सञ्चालन गर्दै आइरहेका छन्, तर सबै विद्यार्थीलाई उनीहरूले समेट्न भने सकेका छैनन् । शिवजन माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले पटक पटक आउने जाने विद्युत र एउटै घरमा धेरै विद्यार्थी हुँदा पनि अनलाइन कक्षा प्रभावकारी हुन नसकेको बताए । 

https://www.techpana.com/2021/99926/