काठमाडौं । झण्डै सात लाख सेवाग्राही सवारीसाधनको लाइसेन्स ट्रायल खुल्ने प्रतिक्षामा छन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहरको चेतावनी दिइरहँदा तत्काल ट्रायल र अनलाइन आवेदन खोल्नेमा संशय कायम छ ।

 

यातायात व्यवस्था विभागले पहिलाे चरणमा ट्रायल परीक्षा सञ्चालन गर्ने तयारी गरेकाे छ । स्वास्थ्य मापदण्डहरू पालना गर्दै ट्रायल खुलाउने याेजना विभागले ल्याए पनि कोभिड-१९ संक्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अनुमति नदिँदा याे प्रक्रिया अगाडि बढ्न सकेकाे छैन ।

‘हामीले सीसीएमसीलाई लाइसेन्सको ट्रायल खुलाउन प्रस्ताव राखेका छौं । यद्यपि सुरक्षाको कारण देखाउँदै अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन । हामी निरन्तर छलफलमा छौं,’ विभागका सूचना अधिकारी लोकनाथ भुसालले भने ।

 

लाइसन्स ट्रायल कहिलेदेखि खुल्छ भनेर अहिले नै भन्न नसकिने उनले बताए । लाइसन्स ट्रायल नखुली अनलाइन आवेदनको पनि टुङ्गो नलाग्ने उनको भनाइ छ ।

 

त्यस्तै विभागले सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेका चालकका लागि साउनदेखि क्यूआर कोडसहितको छुट्टै कार्ड जारी गर्ने भने पनि कोरोनका कारण काम केही पछि सरेको छ ।

 

भुसालका अनुसार अबको एक/डेढ महिनाभित्र यो काम सकिने छ ।

https://www.techpana.com/2021/99964/