कुनै सयम एक कल फोन गर्न लाइनमा बस्नुपर्ने अवस्थाबाट परिवर्तन भएर आज नेपालको कुल जनसंख्याभन्दा बढी मोबाइलको सिम प्रयोग भइरहेको छ।


काठमाडाैं : नेपालमा इन्टरनेट प्रयोगकर्ता एक करोड ६५ लाख हाराहारीमा पुगेका छन्। यो नेपालको कुल जनसंख्याको ५५.८५ प्रतिशत हो। पछिल्लो समय प्रविधिमा आएको विकास र सामाजिक सञ्जालले इन्टरनेटसँग मानिसलाई जोड्ने काम गरेको छ। त्यसैले आज विश्वको कुल जनसंख्याको ५१.२ प्रतिशत इन्टरनेटमा जोडिएका छन्।

इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले विश्वको कुल जनसंख्याको ५१.२ प्रतिशत इन्टरनेट पहुँच पुगेको तथ्यांक सार्वजनिक गर्‍यो। उक्त तथ्यांलकाई अर्थशात्रीहरूले समाजलाई थप समावेशी बनाउन एउटा महत्त्वपूर्ण उपलब्ध भएको उल्लेख गरेका थिए। त्यही अवधारणाले नै विश्वमा इन्टरनेटको पहुँच बढिरहेको छ। विश्व आर्थिक मञ्चले सन् २०१७ मा मान्छेले किन इन्टरनेट प्रयोग गर्छन् अध्ययन गरिएको थियो। उक्त अध्ययनमा नयाँ सोच र खोज गर्न इन्टरनेट प्रयोग गर्ने गरेको उल्लेख छ। त्यस्तै आफूलाई रिफ्रेस बनाउन, बाह्य दुनियाबारे जानकारी लिन र समय कटाउन पनि इन्टरनेट प्रयोग गर्ने संख्या ठूलो छ।

सूचना समाजको अवधारणा, नयाँ सोच, खोज र सामाजिक सञ्जालको विकासले जुन रूपमा विश्वमा इन्टरनेट पहुँच वृद्धि भइरहेको छ। त्यसको प्रभाव नेपालमा पनि देखिएको छ। २०६७ सालमा नेपालका कुल जनसंख्याको ८.७४ प्रतिशत मानिस इन्टरनेटमा जोडिएका थिए। यो नौं वर्षको अन्तरालमा इन्टरनेट पहुँच ५५.८५ प्रतिशत पुगेको छ। प्रविधिमा भएको विकास र मोबाइलको विस्तारले पनि इन्टरनेट पहुँच वृद्धि गर्न ठूलो भूमिका निर्वाह गरेको हो। कुनै सयम एक कल फोन गर्न लाइनमा बस्नुपर्ने अवस्थामा परिवर्तन भएर आज नेपालको कुल जनसंख्याभन्दा बढी मोबाइलको सिम प्रयोग भइरहेको छ। गत कात्तिक महिनाको प्राधिकरणको तथ्यांकलाई आधार मानेर हेर्ने हो भने नेपालमा कुल जनसंख्याको १३६.६० प्रतिशत मानिसमा मोबाइल सेवा पुगिसकेको छ। झन्झटिलो इमेल सर्भरबाट सुरु भएको इन्टरनेट प्रयोगकर्ता एक करोड ६३ लाख ५८ हजार नौ सयको हाराहारीमा पुगिसकेका छन्।

नेपालमा इमेल÷इन्टरनेट सेवा सुरु भएको २४ वर्ष भयो। सन् १९९५ जुलाईमा मर्कन्टाइलले पहिलो पटक इमेल सेवाको सुरुवात गरेको थियो। सन् १९९५ सेक्टेम्बरमा आएर वल्र्डलिंकले इन्टरनेट विकासका क्रममा इँटा थप्ने काम गर्‍यो। डायलअपमा आधारित भएर सुरु भएको इमेल सर्भिसको त्यो झन्झटिलो प्रोसेसबाट आज इन्टरनेटको सहज पहुँचमा हामी पुगेका छौं। ‘उक्त समय इमेल सर्भिस पाउनुलाई भाग्यमानी व्यक्तिको रूपमा हेरिन्थ्यो’, अग्रवाल भन्छन्, ‘आज इमेल सबैको पहुँचमा त्यो पनि सहज रूपमा छ।’ इमेल सर्भिसबाट फुल फेजको इन्टरनेट सुरुवात भने सन् १९९७ जनवरीबाट भएको हो। त्यो बेला मर्कन्टाइलले सिंगापुरको सिङटेलसँग लिजलाइन लिएर इन्टरनेट सेवा सुरु गरेको थियो। त्यसभन्दा अघि किलोबाइटमा इमेल बेचिरहेको अवस्थामा प्रतिमिनेट चार्जका आधारमा इन्टरनेट बेच्न सुरु भयो। सन् १९९८ मा आएर पहिलो पटक नेपालमा भिस्याट भित्रियो। भिस्याट नेपालको दूरसञ्चारको क्षेत्रमा भएको एउटा ठूलो कदम हो। जसले इन्टरनेट पहुँचलाई विस्तार गर्‍यो।

सन् १९९९ मा आएर पहिलो पटक जीएसएम मोबाइल सेवाको सुरुवात भयो। नेपाल टेलिकमले सन् २००० मा आएर पहिलो पटक डायलअप इन्टरनेट सुरुगरेको थियो। त्यतिबेलासम्म इन्टरनेट सेवाप्रदायक कम्पनीले वायरलेस सेवा प्रदान गर्न थालिसकेका थिए। वायरलेस प्रविधि महँगो भएकाले बिजनेस हाउसमा मात्र पुगेको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटी विज्ञ तथा नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनालका अनुसार त्यस समयमा टेलिकमको इन्टरनेट सुरुवात र प्राइभेट सेक्टरमा भएको प्रतिस्पर्धा नै नेपालको इन्टरनेट विकासको सबैभन्दा महत्त्वपूर्ण समय हो। उनका अनुसार त्यसपछिका वर्षमा नेपालमा धेरै इन्टरनेटप्रदायक कम्पनी भित्रिए। नेपाल टेलिकमले एडीएसएल सेवा सुरु गर्‍यो। सन् २००४ मा प्रिपेड मोबाइल सेवा सुरु भयो। सन् २००७ को अन्त्यमा जीपीआरएस अर्थात मोबाइल इन्टरनेट सेवा सुरुभयो। मोबाइल इन्टरनेटको रूपमा जीपीआरएस सेवाको सुरुवातले नै नेपालको इन्टरनेटमा ठूलो फड्को मार्न सफल भएको खनाल बताउँछन्।

खनालका अनुसार २००७ बाट नेपालमा सुरु भएको जीपीआरएस अर्थात् मोबाइल इन्टरनेट सेवा नै नेपालको परिवेशमा सबैभन्दा अर्थपूर्ण छ। तथ्यांकमा हर्ने हो भने वायर इन्टरनेटको पहुँच खासै छैन। फिक्स ब्रोन्डब्यान्डको पहुँच नेपालको कुल जनसंख्याको ११.२० प्रतिशतमा मात्र छ। मोबाइल इन्टरनेटको सुरुवातसँगै इन्टरनेट प्रायोगकर्ता बढ्दै गएका हुन्। जीपीआरएस सेवा सुरु हुँदा सुरुमा वेभपेज पनि खुल्ने अवस्था थिएन। विस्तारै जीपीआरएस सेवाको गुणस्तरमा वृद्धि हुँदै गयो, वेभपेज खुल्ने, फेसबुकलतायत सामाजिक सञ्जालमा मानिस जोडिन सक्ने भए। इन्टरनेटसँगै थपिँदै आएको विभिन्न सेवाले अझ इन्टरनेट विस्तारमा सहयोग पुगेको हो। त्यहाँबाट इन्टरनेट विस्तारको रफ्तारले अझै पनि निरन्तरता पाएको छ।

टेलिकमका अनुसार अहिले टूजी इन्टरनेट देशको ७७ वटै जिल्ला सदरमुकामसम्म पुगिसकेको छ। तर अहिले टूजीलाई इन्टरनेटको रूपमा लिइँदैन। २०७४ माघदेखि टूजी मोबाइल सेवा प्रयोगकर्तालाई प्राधिकरणले इन्टरनेट प्रयोगकर्ताको रूपमा गणना गर्न छाडेको छ। २०७४ पुसमा ६३.८१ प्रतिशत जनसंख्या इन्टरनेट पहुँचमा रहेकोमा माघमा घटेर ४४.२ प्रतिशतमा झरेको थियो। त्यसपछि विस्तार भएको थ्रीजी पनि अहिले ७० जिल्लामा पुगेको छ। थ्रीजी विस्तारले मोबाइल प्रायेगकर्ता पनि बढ्दै गए। विस्तारै इन्टरनेटको ब्यान्डविथ थपिँदै गयो। फाइबर टू दी होम (एफटीटीएच) इन्टरनेट भित्रियो। अहिले ६० एमबीपीएससम्मको इन्टरनेट ग्राहकले चलाउन पाउने अवस्था सिर्जना भइसकेको छ। स्पिड बढेसँगै यसको प्रयोग देशका हरेक क्षेत्रमा हुने थालेको छ। बैंकलेमात्र प्रयोग गर्दै आएको इन्टरनेट अन्य प्राइभेट तथा सरकारी कार्यालयमा पनि प्रयोगमा आएको छ। अर्को महत्त्वपूर्ण कुरा, मोबाइल इन्टरनेटमा फोरजी भित्रियो। चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लङ टर्म इभोलुसन (एलटीई) सेवाको सुरुवात नेपालको इन्टरनेट क्षेत्रमा भएको अर्को महत्त्वपूर्ण उपलब्धी हो।

नेपाल टेलिकमले सन् २०१७ मा आएर नेपालमा पहिलो पटक फोरजी सेवा सुरुगरेको थियो। त्यसपछि एनसेल र स्मार्टसेलले पनि फोरजी विस्तार गर्ने काम गरे। अहिले फोरजी सेवाको विस्तार देशका विभिन्न सहरमा भइसकेको छ। अहिले देशका २१ सहरमा एनसेलको फोरजी सेवा सञ्चालनमा छ। स्मार्टले पनि फोरजी विस्तारलाई प्राथामिकता दिएको छ। एनटीसी देशभर एकैपटक फोरजी सेवा विस्तार गर्ने योजनाका साथ अहिले सम्झौता गर्ने क्रममा छ। दु्रत गतिको मोबाइल इन्टरनेट सेवा फोरजी विस्तारलाई एउटा ठूलो अवसरको रूपमा हेरिएको छ। यसले ग्रामीण क्षेत्रमा रहेका मानिसलाई अवसर सिर्जना गर्नुका साथै सूचना समाजको अवधारणामा समेट्न सक्नेछ। हाम्रो जस्तो भौगोलिक विकटता रहेको देशका लागि सबै स्थानमा फाइबर विस्तार गरी इन्टरनेट प्रदान गर्न कठिन हुने भएकाले मोबाइल इन्टरनेट फोरजीलाई उपयुक्त माध्यमको रूपमा हेरिएको छ।

मोबाइल इन्टरनेटमा भएको विकासले आज हरेक महिना थप एक प्रतिशत जनसंख्या इन्टरनेटमा जोडिन पुगेका छन्। प्राधिकरणको तथ्यांकअनुसार हरेक महिना एक प्रतिशतका दरले इन्टरनेट पहुँचमा वृद्धि भइरहेको छ। असोजमा कुल जनसंख्याको ५४.५० प्रतिशत मानिस इन्टरनेटको पहुँचमा रहेकोमा कात्तिकमा ५५.८५ प्रतिशत पुगेको थियो। त्यस्तै भदौमा ५३.१२ प्रतिशत जनसंख्या इन्टरनेट पहुँचमा थियो। यो क्रम पछिल्लो आठ महिनायता निरन्तर छ। यसले नेपालमा पछिल्लो समय इन्टरनेटको बढ्दो प्रयोग पनि देखाएको छ। पछिल्लो समय इन्टरनेटको उपयोगिता बढ्दै जानु यसको प्रमुख कारण हो। शिक्षा, स्वास्थ्य, सरकारी कार्यालयका साथै निजी क्षेत्रमा पनि इन्टरनेट प्रयोग बढेको हो। तर, नेपालले यसबाट सोचेअनुरूप फाइदा लिन सकेको छैन। अझै पनि डिजिटल अर्थतन्त्रबाट प्राप्त हुने लाभबाट धेरै मानिस बञ्चित रहेकाले त्यसलाई समेट्न थप लगानी आवश्यक देखिन्छ।

विश्वमा इन्टरनेट

विश्वको कुल जनसंख्याको ५१.२ प्रतिशत इन्टरनेटको पहुँचमा छन्। इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार हाल तीन अर्ब ९० करोड मानिस इन्टरनेटको पहुँचमा पुगेका हुन्। विश्वको जनसंख्या सात अर्ब ५३ करोड छ। यससँगै पहिलोपटक विश्वका आधाभन्दा बढी मानिस एकैपटक अनलाइनमा हुने उल्लेख छ। यसका लागि विकसित राष्ट्रलाई आईटीयूले धन्यवाद दिएको छ। विकसित देशमा सन् २००५ मा इन्टरनेटको पहुँच ७.७ प्रतिशत थियो। यो बढेर सन् २०१८ को अन्त्यसम्म आइपुग्दा ४५.३ प्रतिशत पुगेको छ। आईटीयूको तथ्यांकअनुसार अफ्रिकामा सबैभन्दा दु्रत गतिमा इन्टरनेट विस्तार भएको छ। अफ्रिका महादेशमा सन् २००५ यता २.१ प्रतिशतबाट बढेर २४.४ प्रतिशत मानिस इन्टरनेट पहुँचमा पुगेका छन्।

विकसित देशमा भने सन् २००५ मै ५१.३ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा थिए। त्यो प्रतिशत बढेर सन् २०१८ को अत्यसम्म ८०.९ प्रतिशत पुगेको हो। अरबी मुलुकमा ५४.७ प्रतिशत र एसिया तथा प्रशान्त क्षेत्रमा ४७ प्रतिशत इन्टरनेट पहुँच छ। सबैभन्दा कम वृद्धिदर रहेको युरोपमा इन्टरनेटको पहुँच ७९.६ र अमेरिकी मुलुकमा ६९.६ प्रतिशत जनसंख्याले इन्टनरेट प्रयोग गर्छन्। आईटीयूको प्रतिवेदनअनुसार सन् २००७ मा मोबाइल ब्रोडब्यान्डको पहुँच प्रतिसयमध्ये चार जनामा सीमित थियो। यो सन् २०१८ को अन्त्यसम्म आइपुग्दा ६९.३ मा पुगेको छ। त्यसमध्ये एसिया प्रशान्त, अरबी मुलुक र अफ्रिकामा मोबाइल ब्रोडब्यान्डको वृद्धिदर अत्यधिक रहेको उल्लेख छ।

विकसित राष्ट्रमा मोबाइल ब्रोडब्यान्डको पहुँच सन् २००७ मा प्रत्येक सयमा जिरोबाट वृद्धि भएर २८.४ मा आइपुगेको तथ्यांक छ। आईटीयूका अनुसार विश्वको जनसंख्यामध्ये ९६ प्रतिशत मानिस मोबाइल सेलुलर नेटवर्कको पहुँचमा छन्। त्यसमध्ये ९० प्रतिशत थ्रीजी अथवा त्योभन्दा तीव्र गतिको नेटवर्कमा जोडिएको उल्लेख छ।

 

http://annapurnapost.com/news/118614