नेकपा (एमाले)को स्थायी कमिटी बैठक सरेको छ। मंगलबार ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको हो। नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बैठक ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने जानकारी दिए। सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफलका लागि पुगेका 'मध्यमार्गी' नेताहरुसँगको छलफलपछि आजको लागि बैठक तय भएको थियो। बैठकमा मध्यमार्गी धारमा रहेका नेताहरु पनि सहभागी हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए। माधव नेपाल भने पार्टी विभाजनको बाटो हिँडिसकेकाले उनी नआउने आशय ज्ञवालीको थियो। सोमबारको छलफलमा यसअघि एमाले विवाद समाधान गर्न गठिन कार्यदलले तय गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने समझदारी भएको थियो।