अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘बेल बटम’ को कमाईले बलिउड फिल्मकर्मीहरु निराश भएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि पहिलो पटक सिनेमा हलमा रिलिज भएको यो फिल्मले बक्सअफिसमा कमजोर कमाई गरेको छ । ४५ करोडमा बनेको फिल्मले चार दिनमा १३ करोड ४५ लाख छापेको छ । फिल्मको पहिलो दिने कमाई २ करोड ७५ लाख थियो ।

 

‘बेल बटम’ पछि फिल्म रिलिजको लाइन लाग्ने बलिउड फिल्मकर्मीहरुको विश्वास थियो । तर, यो फिल्मको कमजोर कमाईका कारण प्रदर्शनको तयारीमा रहेका फिल्म २०२२ सम्म टर्न सक्ने देखिएको छ । यद्यपि, यही २७ अगस्टमा अमिताभ बच्चनको ‘चेहरे’ र १० सेप्टेम्बरमा कंगना रनोटको ‘थलाइवी’ रिलिज हुँँदैछ । यी दुई फिल्मप्रति पनि बलिउडले निकै ठूलो आश गरेको छ । 

 

कोरोना महामारीको समयमा रिलिज भएको फिल्म ‘मुम्बई सागा’ ले पहिलो दिन २ करोड ८२ लाख र अर्को फिल्म ‘रुही’ ले ३ करोड ६ लाख कमाएको थियो । यसको अगाडि ‘बेल बटम’ को कलेक्सन अपेक्षाभन्दा कम हो । माउथ पब्लिसिटी बलियो हुँदा पनि फिल्मले दर्शकको साथ पाएको छैन । फिल्ममा वाणी कपूर, लारा दत्ता, हुमा कुरेशी, आदिल हुसेनको पनि मुख्य भूमिका छ ।

 

भारतको दक्षिणी राज्य तमिलनाडुमा भने फिल्मको कमाई अपेक्षाभन्दा बढी हुने देखिएको छ । त्यहाँ सोमवारबाट थिएटरहरु खुलेका छन् र तमिल फिल्म नभएका कारण प्रायः मल्टीप्लेक्सहरुले ‘बेल बटम’ नै प्रदर्शन गरेका छन् । फिल्ममा एक तमिल कलाकारको पनि अभिनय रहेकाले यसको प्रत्यक्ष फाइदा फिल्मलाई हुने तमिल फिल्म क्रिटिक्स भारत कुमारले बताएका छन् ।