काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले देशभरका स्थानीय तहमा स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ । प्राधिकणको ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत स्थानीय तहमा स्मार्ट सडक बत्ती जडान गरिने भएको हो ।

 

रातको समयमा हुने आवतजावतमा सहजता ल्याउन, अँध्यारोमा घट्नसक्ने अप्रीय घटना न्यूनीकरण गर्न र रात्रिकालीन उद्योग तथा व्यापार व्यवसायहरूलाई प्रवर्द्धन गर्न तथा सहरको सौन्दर्य अभिवृद्धि गर्न स्मार्ट सडक बत्ती अपरिहार्य हुने प्राधिकरणले जनाएको छ ।

स्मार्ट बत्ती जडान गर्न प्राधिकरणले देशभरका स्थानीय तहसँग समन्वय गर्नेछ ।

 

एक सूचना जारी गर्दै प्राधिकरणले इच्छुक महानगरपालिका,  उपमहानगरपालिका,  नगरपालिका र गाउँपालिकाहरूलाई प्राधिकरणसँगको लागत साझेदारीमा स्मार्ट सडकबत्ती जडान कार्यक्रममा सहभागी हुनका लागि आह्वान गरेको छ ।

 

साथै, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान एवं निजी जलविद्युत प्रवर्द्धकहरूलाई समेत आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहर उज्यालो कार्यक्रममा सहभागी भई सहयोग गर्न आग्रह गरेको छ ।

 

यसअघि देशका मुख्य सडकहरुमा स्मार्ट बत्ती जडान गर्ने काम सम्पन्न भइसकेकाे छ ।