काठमाडौं । गृह मन्त्रालयको लापरबाहीका कारण अनलाइनमा नेपाली नागरिकको निजी जानकारी बाहिरिएको छ । सरकारका विभिन्न मन्त्रालय र विभागका वेबसाइटबाट नागरिकको संवेदनशील विवरण बाहिरिने गरेको पाइएको हो ।

 

जिल्ला प्रशासन कार्यालय मकावानपुरले राहदानी सेवा लिएका सेवाग्राहीहरुको विवरण अनलाइनमा राख्दै आएको छ । तर नागरिकको व्यक्तिगत विवरण सार्वजनिक हुँदा यसले सम्भावित साइबर आक्रमण र दुरुपयोगका घटना हुनसक्ने भन्दै सुरक्षा जानकारहरुले चिन्ता प्रकट गरेका छन् ।

गुगलमा सर्च गर्दा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट राहदानी सेवा लिएका सेवाग्राहीको विवरण देख्न सकिन्छ । यसमा नागरिकको नाम, संकेत नम्बर, ठेगाना, नागरिकता नम्बर, बिल नम्बर र पासपोर्ट नम्बर लगायतका विवरण समावेश छ ।

 

मकवानपुरका सहायक जिल्ला अधिकारी बाबुराम अर्यालले राहदानी आवेदन दिएका सेवाग्राहीहरुको सूचनाका लागि अनलाइनमा विवरण सार्वजनिक हुँदै आएको बताए । राहदानी तयार भएको अवस्थामा अनलाइनमा विवरण राख्ने र यसबाट सेवाग्राहीलाई सूचना दिने व्यवस्था गरिएकाे उनकाे भनाइ छ ।

 

‘अन्य प्रशासन कार्यालयले पनि यसरी नै अनलाइनमा विवरण सार्वजनिक गरेर सेवाग्राहीलाइ सूचना दिएका छन्,’ उनले भने, ‘निश्चित समयपछि पुरानाे विवरण हटाउने गरिएकाे छ ।’

 

सेवाग्राहीले हालसम्म व्यक्तिगत गोपनीयताको विषय नउठाएको बताउँदै उनले यसबाट समस्या निम्तिने खतरा भएमा वेबसाइटबाट हटाइने उल्लेख गरे ।

https://www.techpana.com/2021/100697/