काठमाडाैं । एप्पलको बहुप्रतिक्षित आईफोन १३ सिरिज आउँदो सेप्टेम्बरमा सार्वजनिक हुने भएको छ ।

 

ट्वीटरमार्फत एप्पलका नयाँ उत्पादनबारे सूचना दिँदै आएका चर्चित टिप्सटर जोन प्रोसरले आईफोन १३ सिरिज सेप्टेम्बर १४ मा सार्वजनिक हुने र २४ सेप्टेम्बरदेखि यसको बिक्री सुरु हुने खुलासा गरेका छन् ।

उनले दिएकाे जानकारी अनुसार नयाँ सिरिजका आईफोनकाे प्रि-अर्डर भने १७ सेप्टेम्बरदेखि सुरु हुनेछ ।

 

आईफोन १३ को विषयमा बजारमा विभिन्न हल्ला चलिरेको बेला यससम्बन्धी कम्पनीले सूचना बाहिर ल्याउने व्यक्तिलाई कारवाही गर्ने चेतावनी दिँदै आएको छ ।

 

यसकारण पनि आईफोन १३ को बारेमा त्यति धेरै सूचना बाहिरिएको छैन । हुन त प्रोसरले पनि यस सूचनाको विषयमा कुनै आधिकारिक स्रोत खुलाएका छैनन् । 

 

यद्यपि आगामी सेप्टेम्बर १४ मै आईफोन १३ का सिरिज सार्वजनिक हुने प्रोसरको दाबी छ । 

गत वर्षजस्तै यो वर्ष पनि आईफोनका चार मोडेलहरु आउने अनुमान गरिएको छ । जसमा आईफोन १३, आइफोन १३ मिनि, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स रहनेछन् ।

यसअघि बाहिरिएको टिजरमा आईफोन १३ को रिटेल बक्सको प्याकेजिङ देखिएको छ । रिटेल बक्सहरु तयार भइसकेको हुँदा मोबाइल फोनको सार्वजनिक हुने मिति पनि तय भएको अनुमान गरिएको हो ।

 

आईफोन १३ पूर्ववर्ती आईफोन १२ सँग मिल्दो डिजाइन हुने अनुमान गरिएको छ । यसअघि बाहिरिरएकाे एक सूचनाअनुसार यसमा १२० हर्जको रिफ्रेस रेट हुनुका साथै क्यामेरा पनि थप परिस्कृत गरिएकाे छ ।

https://www.techpana.com/2021/100860/