काठमाडौं । साओमीको अर्को नयाँ फ्ल्यागशिप मोबाइल ‘साओमी १२’ उत्पादनको चरणमै छ । यद्यपि फोनका केही विवरण भने इन्टरनेटमा लिक हुन थालिसकेका छन् ।

 

फोनको विषयलाई लिएर केही महत्त्वपूर्ण विवरण पनि बाहिरिएकाे छ । तीमध्ये एक हो, तयार हुँदै गरेको साओमी १२ को क्यामेराको चर्चा ।

इन्टरनेटमा अहिले भइरहेको नयाँ चर्चाअनुसार साओमीले आफ्नो नयाँ फ्ल्यागशिप फोनमा हाई रेजाेलुसनकाे क्यामेरा उपलब्ध गराउने छैन ।

 

हुन त ‘मि १० सिरिज’ को फोनमा १०८ मेगापिक्सेलको रियर क्यामेरा उपलब्ध गराएर स्मार्टफोनमा हाई रेजाेलुसनकाे क्यामेरा प्रयोग गर्न अन्य कम्पनीलाई चुनौती नै दिएको थियो ।

 

विगत तीन वर्षदेखि साओमीका ‘मी ११’ र ‘मी ४’ सिरिजका फोनमा १०८ मेगापिक्सेल सहितको रियर क्यामेरा नै प्रयोग हुँदै आएको छ ।

 

यद्यपि ‘साओमी १२’ मा भने कम्पनीले केही परिवर्तन गर्ने भएको छ ।

चिनियाँ टिप्सटर डिजिटल च्याट स्टेशनका अनुसार कम्पनीले १०८ मेगापिक्सेलकाे सट्टामा ‘साओमी १२’ मा ५० मेगापिक्सेल सेन्सरको तीनवटा मोडेस्ट क्यामेरा उपलब्ध गराउने छ ।

यसको अर्थ ‘साओमी १२’ मा ५० मेगापिक्सेलको मेन क्यामेरा, ५० मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र ५० मेगापिक्सेलको टेलिफोटो लेन्स हुनेछ ।

 

यसको साथै कम्पनीले अहिले क्यामेरामा १० एक्स पेरिस्कोप लेन्स राख्ने तयारी गरिरहेको टिप्सटरले जनाएको छ । यद्यपि ५० मेगापिक्सेलको टेलिफोटो सेन्सरमा भने ५ एक्स पेरिस्कोप लेन्स राखिने छ ।

https://www.techpana.com/2021/100993/